नेपालगञ्ज : नेपालगञ्जमा जारी प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा एपीएफले लगातार दोस्रो जीत निकाल्दा न्यु डायमण्ड पहिलो खेल जीतेको छ । पहिलो खेलमा त्रिभुवन आर्मीलाई पराजित गरेको एपीएफले आइतवार भएको दोस्रो खेलमा लुम्बिनी युनाइटेडलाई पराजित गरेको छ ।
प्रतियोगिताको सहभागी टोलीमध्ये कमजोर लुम्बिनीलाई एपीएफले सोझो सेटमा पराजित गरेको छ । एपीएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ को सेटमा पराजित गरेको हो । खेलमा एपीएफकी सरस्वती चौधरी ओमन अफ द म्याच भइन् । उनलाई एन्फाका पूर्वउपाध्यक्ष गोबर्धनसिँह सम्झना, एन्फा बाँकेका अध्यक्ष भोजराज शाही, यति एयरलाइन्सका शिशिर गौतमले पुरस्कार प्रंदान गरे ।
अर्को प्रतिस्पर्धात्मक खेलमा न्यु डायमण्डले बाजी मारेको छ । न्यु डायमण्डले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । न्यु डायमण्डले आर्मीलाई शुरुवातदेखिनै दबावमा राखेको थियो । न्यु डायमण्डले शुरुवाती दुई सेटमा आर्मीलाई २५–१८ र २५–२१ मा पराजित गर्यो ।
तेस्रो सेटमा आर्मी खेलमा फर्किएको थियो । आर्मीले २५–२३ ले न्यु डायमण्डलाई पराजित गरेको थियो । चौथो सेटमा शुरुवाती अग्रता लिएर पनि आर्मी पराजित हुन पुग्यो । यो सेटमा न्यु डायमण्डले आर्मीलाई २५–२१ ले पराजित गर्यो ।
दोस्रो खेल खेलेको न्यु डायमण्डले पहिलो जीत निकालेको छ । यसअघि न्यु डायमण्ड पुलिससँग पराजित भएको थियो । खेलमा न्यु डायमण्डकी झरना श्रेष्ठ ओमेन अफ द म्याच भइन् । युएनडिपी नेपालका फरनाल्डो कोल्को र प्रदेश सांसद कृष्ण केसी नमुनाले पुरस्कृत गरे । प्रतियोगितामा आर्मी दोस्रो पटक पराजित भएको छ । तीन खेल खेलेको आर्मीले एक खेल जीतेको छ ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन २५ गतेसम्म चल्ने प्रतियोगितमा प्रथम हुनेले ५ लाख पुरस्कार पाउने छन् । दोस्रो हुनेलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा नेपाल प्रहरी, एपीएफ, त्रिभुवन आर्मी, न्यु डायमण्ड र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ ।