बाँकेको खजुरामा निर्माणाधिन खेलकुदग्रामले युवाहरु उत्साह थप्दै

रुद्र सुवेदी २१ पुष २०७७, मंगलवार ११:१४
 
बाँकेको खजुरा–२ गौरिनगरमा निर्माणाधिन खेलकुद ग्राममा आयोजित स्थानीय क्लव स्तरिय फुटबल प्रतियोगितामा फुटबल खेल्दै खजुराका युवाहरु । फोटो : रुद्र सुवेदी  

खजुरा (बाँके)  : बाँकेको खजुरा गाँउपालिकाको वडानं २ मा निर्माणाधिन खेलकुद ग्रामले पालिकामा खेलकुदको राम्रो संभावना हुने भएको छ । खेल भावनालाई विकास गर्न र युवा शक्तिलाई खेलकुदमा आकर्षण गर्न गाउपालिकाले खेलकुदको विकासको लागि खेलकुद ग्राम निर्माण गर्न सुरु गरेको जनाएको छ ।

खजुरा गाउपालिकाले आठौ राष्ट्रिय खेलकुदको महिला हक्की, महिला पुरुष भलिबल, बक्सिङ्ग र फुटवललगायतका चार खेलका ईभेन्ट सफलता पूर्वक सम्पन्न गरि सकेको कारणले पनि खजुरामा खेलकुदको संभावना रहेकोले पालिकाले संघिय सहयोगमा खेलकुद ग्रामको निर्माणलाई अघि बढाएको गाउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

खजुरा गाउपालिकाकाले वडा नं. २ गौरीनगरमा खेलकुदग्राम निर्माण गर्न थालेपछि यहाँका युवा खेलाडीहरु उत्साहित भएका छन् । नेपाल सरकारको सहयोगमा गाँउपालिकाले गौरीनगरलाई खेलकुदग्राम बनाउने भएपछि यहाँका युवा खेलाडीहरु उत्साहित भएका हुन् ।

खेलकुद ग्राम बन्नु खजुरा गाउपालिकाका युवाका लागि सुनौलो अवसर भएको स्थानीय सुदर्शन खड्काले बताए । उनले भने–‘ खेल मैदान नहुँदा खेतमा खेलेर पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खजुराको नाम राख्न सफल भएका छौ । तर। अव पालिकाले हाम्रै घरदैलोमा खेलकुद ग्राम निर्माण गर्दै छ । यसको भरपुर सदुपयोग गर्न आवश्यक छ ।’

उनले स्थानीय सरकारले खुलकुद ग्रामसंगै युवालाई खेलकुदमा लाग्न युवा लक्षित खेलकुदका कार्यक्रमहरु ल्याउन सके निर्माणाधिन अवस्थामा रहेको खेलमैदानको अर्थ हुनुका साथै युवाहरुमा पनि अन्यत्र भन्दा खेलकुदतर्फ ध्यान जाने दाबी गरे ।

गाउपालिकाले खेलकुदका सामाग्री उपलब्ध गराउनुको साथै खेल भावनाको विकास गर्नको लागि खेलकुदका प्रतियोगिता गराउदै आएको खजुराका स्थानीय फुटबल खेलाडी बिनोद कुमाल बताउछन् । उनको भनाईमा सहमति जनाउदै खजुराकै स्थानीय डाँफे स्पोर्ट क्लवका फुटबल क्याप्टेन समेत रहेका सुभाष बुढाथोकीले भने–‘खजुरा गाउपालिकाले खेलाडि उत्पादन गर्न तथा खेल प्रतिभालाई प्रस्फुटन गर्नको लागि विभिन्न प्रतियोगिता आयोजना गरेर खेल क्षेत्रमा पनि भविस्य छ है भन्ने सन्देश दिने कोशिस गरेको छ । अबको पाटोमा खेल प्रशिक्षक उपलब्ध गराई प्रशिक्षणको कार्यक्रम सञ्चालनमा ल्याउन आवश्यक छ ।’

खजुरा गाउपालिकाले खेल क्षेत्रको विकासको लागि खेलमैत्री बाताबरण तयार गर्नुको साथै खेलकुदको क्षेत्रबाट पनि खजुरको परिचय निर्माण गर्न सफल भएको बताउछन् खजुरा गाउपालिका वडा न.४ का वडा अध्यक्ष तथा न्यू डाँफे स्पोर्टस क्लवका अध्यक्ष तिलकबीर सुनार । उनले आफ्नो वडाले खेल पनि विकासको संवाहक हो भन्ने उद्देश्य राखेर खेलकुदलाई प्राथामिकतामा राखेको बताए ।


उनले भने–‘भौतिक पूर्वाधार मात्र विकासको सूचक हुन सक्दैन त्यसैले खेल क्षेत्रलाई पनि हमिले विकासको सूचकको रुपमा लिएर प्राथामिकतामा राखेका छौ ।’ खजुराको गौरीनगरमा खेलकुदग्राम र डि गाउमा फुटबल ग्राउण्ड निर्माण हुदा स्थानीय युवाहरु खेलतर्फ आकर्षित हुदै आएका छन् । पछिल्लो समय युवालाई कुलतबाट जोगाउनको लागि खेलकुद महत्वपूर्ण क्षेत्र भएकोले पनि पालिकाले युवालाई खेलकुद मै आफ्नो भविष्य देख्ने गरी खेलकुद ग्राम निर्माणलाई तीब्र पारेको बताउछन तत्कालिन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओली ।

उनले गाउपालिकाले निर्माण गर्न लागेको खेलकुद ग्रामले खजुरा गाउपालिका खेलाडि उत्पादन गर्ने पालिकाको रुपमा आफुलाई चिनाउन लागि परेको दाबी गर्दै भने–‘ खजुरा गाउपालिकाले फुटवल, बक्सिङ्ग, एथलेटिक्स र मार्शल आर्टस जस्ता खेलकुदका ईभेन्टमा खेल्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडि उत्पादन गरि राष्ट्रलाई दिएको छ । अब बन्ने खेलकुद ग्रामले थप खेलाडि उत्पादन गरी खेल संस्कृतिको बिकासको लागि खजुरा गाउपालिका अर्को नाम हुनेछ ।’

खजुरा गाँउपालिका प्रमुख कक्षपतिले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त आर्थिक बर्ष २०७६÷०७७ को एक गाउँपालिका एक खेलकुद ग्राम निर्माण गर्ने नीति तथा कार्यक्रम अन्तर्गत बाँकेको खजुरा गाउँपालिकाको वडान. २ गौरिनगरमा ५७ करोड ८७ लाख कूल लागतमा खेलकुद ग्राम निर्माण गरिने भए पनि चालू आर्थिक वर्षमा भने ‘टोकनमनी’का रुपमा आएको ५० लाख रकमले निर्माण कार्य सुरु गरेको बताए ।

उनले खजुरा खेलकुद ग्रामको लागि आएको ५० लाखले खेल मैदानमा माटो पटान र बाउन्ड्री घेर्ने जस्ता कार्यहरु भैसकेको र बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने गरि अघि बढेको बताए । उनले देशको मेरुदण्डका रुपमा रहेका युवाहरुको उर्जालाई स्थानीय सरकारले पहिचान गरि खेलकुदको माध्यामबाट उपयोगमा ल्याउदै खजुराबासीको ‘समृद्ध खजुरा’को सपना साकार पार्ने दबी गरे । खेलकुद ग्राममा फुटबल, भलिबल, पौडी पोखरी, बहुउद्देश्यीय कभर्डहल, जिम हल, पार्किङ, खेलाडी आवाशिय भवन निर्माण गरिने गुरु योजनामा रहेको छ ।

 

 

Next Post

संसद विघटनविरुद्धको सुनुवाई एक साता सर्यो

२१ पुष २०७७, मंगलवार ११:१४
काठमाडौं : संसद विघटनविरुद्को मुद्दाको सुनुवाइ फेरि एक सातालाई सरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलाशमा नबस्ने बताएपछि सुनुवाइ स्थगन भएको हो । अर्को पेसी पुस २९ गतेलाई तोकिएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश कार्की इजलासमा बसेपछि प्रश्न उठाएका थिए । उनले विगतमा प्रधानमन्त्री केपी ओलीकै सल्लाहकार […]