सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज भन्सारले कोबिड–१९ का कारण आव्हान गरिएको लकडाउन कै बीचमा पनि गत वर्षकै हाराहारीमा राजस्व संकलन गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा नेपालगञ्ज भन्सारले ११ अर्व ७७ करोड ८ लाख २२ हजार राजश्व संकलन गर्न सफल भएको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए । गत आर्थिक वर्ष २०७५/०७६ मा १२ अर्व ३३ करोड ५५ लाख ७१ हजार संकलन गरेको थियो ।
कोबिड–१९ को कारण भएको लकडाउनको प्रभावले गर्दा नेपालगञ्ज भन्सार कार्यालयलाई १५ अर्व ४३ करोड ७५ लाख १४ हजारको लक्ष दिएको भए पनि लक्षको ७६.२५ प्रतिशत मात्र राजस्व संकलन हुन सकेको हो ।
लकडउनको कारण भएको बन्दाबन्दीमा पनि नेपालगञ्ज भन्सार कार्यालयले अन्य भन्सार कार्यालय भन्दा बढी राजस्व संकलन गर्न सफल भएको पाईएको छ ।
राजस्व असुलीको दृष्टिले आर्थिक वर्ष २०७६/०७७ मा बिरगन्जको ड्राईपोर्ट संभवत पहिलो र दोस्रोमा नेपालगञ्ज भन्सार भएको पाईएको छ । कोबिड– १९ को कारण भन्सार बिभागले तोकेको राजस्व असुलीमा केही प्रभाव भएको कारणले लक्ष पुग्न कठिन भएको हो ।
नेपालगञ्ज भन्सार कार्यालयबाट पेट्रोलियम पदार्थमा डिजल, पेट्रोल, खाना पकाउने एलपिजि ग्यास, चामल, क्लिङ्कर, सेरामिक आईटम, खरानी, आलु, हवाई ईन्धन, तामाको टुक्रा आयात हुने प्रमुख बस्तुहरु हुन भने नेपालगञ्जबाट भारत निकासी हुनेमा कत्था, जडिबुटी, रोजिन, टार्पेनटाइन लगायत रहेका छन् ।