शाहसहित चारलाई हतियार तथा खरखजना मुद्दामा म्याद थप

१६ कार्तिक २०७६, शनिबार १५:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  बाँके प्रहरीले तरुण दल नेपालगञ्ज नगर कमिटी अध्यक्ष सन्दिपजंग शाहसहित चार जनालाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बिहीबार राति साढे ८ बजेतिर नेपालगञ्जको गनापुरस्थित नमस्ते भिलेज रिसोर्टमा अध्यक्ष शाहसँगै प्रितम थापा, माधव नेपाली, यामबहादुर बुढामगरसहित ६ जनालाई गाडीमा लुकाएर राखेको अवस्थामा एक थान अमेरिकी अटोमेटिक पेस्तोल, २ राउण्ड गोली र त्यसको म्याग्जिनसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका दुई जनालाई संलग्नता नरहेको भन्दै रिहा गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाहीले बताए । उनले भने, ‘चार जनालाई अवैध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दाका लागि जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि थुनामा राख्न सात दिन म्याद थप गरिएको छ ।’
तरुण दल बाँकेले शुक्रबार विज्ञप्ति जारी गरी अध्यक्ष शाहलाई नियोजित ढंगले फसाउन खोजेको जिकिर गरेको छ । तरुण दलका बाँके अध्यक्ष वीरेन्द्रबहादुर शाह र सचिव विनोद रिजालद्वारा जारी गरिएको विज्ञप्तीमा ‘प्रहरीले विगत केही महिना यता कांग्रेस नेता कार्यकर्तालाई सुनियोजित रुपमा फसाउन खोजेको’ उल्लेख गर्दै बिना सर्त रिहाइको माग गरिएको छ । घटनाको कांग्रेस बाँकेले पनि आपत्ति जनाएको छ ।
सो घटना पछि डीएसपी शाही र तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्काबीचको टेलिफोन बर्ताको अडियो सार्वजनिक भएको छ । सो अडियो सर्वजनिक भएपछि घटना झन् विवादित बनाईदै अबैध हतियारको मुद्दालाई कमजोर पार्नको लागि रचिएको प्रपञ्च भएको बताउदै डीएसपी शाहीले भने–‘अवैध हतियारको घटनालाई ढाकछोप गर्न प्रपञ्च रचिएको हो । यो आरोपको पुष्टि गर्न ममाथि पनि छानबिन गर्न पर्छ भने तयार छु ।’
प्रहरीले शाहलाई नेपालगञ्ज–२० मनिकापुर स्थित नमस्ते भिलेज रेस्टुरेन्टको पार्किङ्गमा रहेको बा १८ च ४२११ नंम्बरको खैरो मारुती सुजिकी कारको सिटमुनी बनाईएको फल्स बटमबाट सो पेस्तोल र त्यसमा लाग्ने गोली लोड गरि लुकाई राखेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
केहीदिन अघि नेपालगञ्जमा भएको खुँडा काण्डमा प्रयोग भएको खुँडा सोही गाडिमा राखेर ल्याईएको प्रहरी निकट स्रोतले जनाएको छ ।
बाँके प्रहरी प्रमुख वीरबहादुर ओलीले हातहतियारसहित शाह पक्राउ गरिएको बताए । उनले डीएसपी शाहीसँग भएको टेलिफोन संवाद भने आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने,‘मैले पनि सुनेको छु । के कुरा भएको छ भन्ने बारे बुझ्न पाएको छैन । त्यस विषयमा छानबिन हुनेछ । अबैध हतियार र टेलिफोन संवाद फरक विषय भएकोले फरक ढंगले हेरिने छ ।’

Next Post

गुल्मीमा तीन जनाको शव भेटियो

१६ कार्तिक २०७६, शनिबार १५:४८
सदरलाइनडटकम, गुल्मी : गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ हर्राचौरमा शनिवार तीन जनाको बेवारिसे शव भेटिएको छ । जसमध्ये एकजना महिला र दुई बालबालिका रहेका छन् । महिला अन्दाजी २७ बर्ष र बालिकाद्वय अन्दाजी ७ र अर्को ११ बर्षको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी मीन बहादुर घलेले बताए । […]