सदरलाइनडटकम,
कपिलवस्तु : कृष्णनगर बजारको जनजीवन सामान्य बन्दै गएको छ । बुधवार राति लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्ने क्रममा झडप भएपछि बढेको तनाव बिहीवार राति मूर्ति विसर्जन गरेपछि सामान्य बन्दै गएको हो ।
बिहीबार राति भएको वार्तामा प्रहरीको गोली लागि ज्यान गुमाएका भारतीय नागरिक सुरवकुमार पाण्डेका परिवारलाई क्षतीपूर्तिको लागि सिफारिस गर्ने, दोषीलाई कारबाही गर्ने र घाइतेको उपचार खर्च सरकारले ब्यहोर्ने सहमति भएपछि राति नै मूर्ति विसर्जन गरिएको हो ।
जनजीवन सामान्य बन्दै गए पनि बिहीवार बिहान ११ बजेदेखि लगाइएको कर्फ्यू भने अझै हटाइएको छैन । केही समय शान्ति सुरक्षाको अवस्था हेरेर कर्फ्यू हटाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद र झडप हुँदा बुधबार १० जना घाइते भएपछि बिहीबारदेखि कर्फ्यू लगाइएको हो । बिहीवार कर्फ्यू उल्लंघन गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कृष्णनगरमा पसल गरी बस्ने भारतीय नागरिक पाण्डेको ज्यान गएको थियो ।