बसको ठक्करबाट कैलालीमा दुई बालकको मृत्यु

१५ कार्तिक २०७६, शुक्रबार १३:५४
 

सदरलाइनडटकम,
कैलाली : कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट घाइते भएका दुईजना बालकको उपचारका क्रममा मृत्यु भएको छ । विहीवार साँझ ५ बजे महेन्द्रनगरबाट काठमाण्डौ गइरहेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसले बर्दगोरीया गाउँपालिका १ साझा चौक नजिक साइकलमा सवार दुईजना बालकलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका बर्दगोरीया गाउँपालिका १ का ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका ८ का १२ वर्षीय लक्ष्मण चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । घाइते अंशु र लक्ष्मणलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो । घाइते लक्ष्मण चौधरीको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको र अर्का घाइते अंशुको भारतको लखनऊमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको उनले बताए । मृतक बालकद्वयका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनियाँ सडकखण्ड अवरुद्ध पारेका छन् । उनीहरुले सडक अवरुद्ध पारेपछि सवारीका साधन सञ्चालन ठप्प भएको छ । इलाका प्रहरी कार्यालय बौनियाँका इञ्चार्ज ध्रुव विष्टले मृतकद्वयका आफन्त विरोधमा उत्रिएको जानकारी दिए ।

Next Post

चिसो बढेसँगै सारिए डोल्पाका प्रहरी चौकी

१५ कार्तिक २०७६, शुक्रबार १३:५४
सदरलाइनडटकम, डोल्पा : चिसो बढेसँगै माथिल्लो डोल्पाका ६ वटा प्रहरी चौकी सदरमुकामस्थित दुनैमा सारिएको छ । माथिल्लो डोल्पाका स्थानीय तहहरु शे फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङ र डोल्पो बुद्ध गाउँपालिकाको केन्द्र धोमा रहेका अस्थायी प्रहरी चौकीमा रहेका प्रहरीहरु सदरमुकाम दुनै झरेका हुन् । सुरक्षाका लागि रहेका प्रहरीहरु झरेपछि असुरक्षित महसुस गरेको […]

सम्बन्धित