स्थानीयमाथि चालकले चलाए डोजर, आठ घाइते

५ कार्तिक २०७६, मंगलवार १७:३५
 

सदरलाइनडटकम,
बैतडी : सडक निर्माणमा विवाद भए पछि डोजर रोक्न उत्रिएका स्थानीयलाई बैतडीमा डोजर चालकले स्थानीय माथि डोजर चलाउदा आठ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणबारे विवाद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।
डोजरको ‘थुतुनो’ले हान्दा ३५ वर्षीया गौरी जोशी गम्भीर घाइते भएकी छन् । उनको बैतडीमा उपचार हुन नसक्दा कोहलपुर रेफर गरिएको छ । अन्य घाइतेहरुमा सुरेन्द्र प्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी रहेका छन् । सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणबारे दुई पक्षबीच कुरा नमिल्दा झडप पनि भएको थियो ।
सडक लैजान नदिने र सडक खन्नुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ । सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण गर्न खोज्ने पक्षले जबरजस्ती आफूहरुको जमिनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिए । ‘सडक निर्माण हुने ठाउँमा देवताको गुठी थियो । यो बिषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि अर्को पक्षले जबरजस्ती गरेको हो’, उहाँले भन्नुभयो। तर निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले भने डोजरमा एक्कासी ढुंगामुढा गरेको आरोप लगाए ।
सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडकका बिषयमा पहिलादेखि विवाद थियो । एक्कासि आफूहरुको जमीनमा डोजर चलाउँदा झडपको स्थिति आएको स्थानीय दुर्गादत्त जोशीले बताए । जबरजस्ती सडक बनाउन थालिएपछि विरोधमा उत्रिएकी गौरा जोशीलाई डोजरले फालेपछि झडपको स्थिति आएको बताइएको छ । तर सडक निर्माणमा जुटेको पक्षले भने सडक खन्दा एक्कासि डोजरमा ढुंगामुढा गरेपछि झडपको स्थिति आएको जनाएको छ ।
सडक निर्माण गरिरहेको डोजरमा एक्कासि ढुंगामुढा गर्दा झडप भएको सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले जानकारी दिए । पार्ससम्म जोड्ने अर्को सडक पनि काट्ने काम भइरहेको थियो । गाउँलेहरु दुवै समूहमा विभाजन हुँदा झडप भएको प्रहरीले जनाएको छ । स्थानीयले ढुंगामुढा गर्दा डोजरको सिसा फुटेको प्रहरीले जनाएको छ । ग्वाल्लेकमा निर्माण भइरहेको सडकबारे दुवै पक्षबीच पहिलादेखि विवाद थियो ।
आफूहरुले मिलेर जान आग्रह गरिरहेको भए पनि एक्कासि झडप भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए । सडक निर्माणबारे भएको विवादबारे दुवै पक्षसँग छलफल गरेर टुंगो गर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।


डोजर चालकसहित ४ पक्राउ
सडक निर्माणबारे गाउँलेबीच विवाद हुँदा डोजरले महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका छन् । चालकले महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसका साथै अन्य ३ जनालाई पनि पक्राउ गरि अनुसन्धान थालिएको छ । झडप गर्ने दुवै पक्षकासहित अन्य ३ जना पनि पक्राउ परेका छन् । सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणबारे दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो । झडपमा डोजर चालकले स्थानीय गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक भएको थियो । जोशीको अहिले कोहलपुरमा उपचार भइरहेको छ ।

Next Post

बाँकेका किसानद्वारा मुख्यमन्त्री पोख्रेललाई ज्ञापन

५ कार्तिक २०७६, मंगलवार १७:३५
सदरलाइनडटकम, नेपालगञ्ज : फौजी किराले दुःख दिएपछि बाँकेका किसानले मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापनपत्र बुझाएका छन् । नेपालगञ्जमै रहेका मुख्यमन्त्री पोख्रेललाई मंगलवार ज्ञापनपत्र बुझाउँदै किसानहरुले फौजी किराको व्यवस्थापन र सहयोग गर्न आग्रह गरेका थिए । बाँकेमा कुल जमिनमध्ये ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा हुने धान खेतीमध्ये फौजी किराले झण्डै १७ हजार […]