सदरलाइनडटकम,
काठमाण्डौ : ‘गौहत्या’ प्रकरणको छानबीन गर्न गृहमन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । बाँकेको नेपालगञ्जबाट लगिएका गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मृत भेटिएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा शनिवार जारी विज्ञप्तिमा छानबिनका लागि उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको जनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जी हाउसबाट लगिएका ३ सय ७० गाईगोरुमध्ये २४ गाईगोरु वीरेन्द्रनगर नगरपालिका–१४ कटकुवास्थित जंगलमा मृत फेला परेका थिए ।
घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले गाईगोरु ढुवानीमा प्रयोग भएका ४ वटा ट्रक बरामद गरेको छ भने ट्रक चालकलाई पक्राउ गरेर प्रहरी नियन्त्रणमा राखेको छ ।
‘गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने कुरामा समेत गृह मन्त्रालय प्रतिवद्ध रहेको समेत विज्ञप्तिमा जनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जी हाउसबाट लगिएका ३ सय ७० गाईगोरुमध्ये २४ गाईगोरु वीरेन्द्रनगर नगरपालिका–१४ कटकुवास्थित जंगलमा मृत फेला परेपछि चौतर्फी बिरोध भएको थियो ।