सदरलाइनडटकम,
काठमाण्डौ : इरानले बेलायतको एउटा ट्यांकर नियन्त्रणमा लिएको छ । बेलायतका विदेशमन्त्री जेरोमी हन्टले इरानले बेलायती झन्डायुक्त ट्यांकर गल्फ क्षेत्रबाट नियन्त्रणमा लिएको बताएका छन् । नियन्त्रणमा लिएको ट्यांकर तत्काल नछाडे इरानले गम्भीर मूल्य चुकाउनु पर्ने मन्त्री हन्टले चेतावनी दिएका छन् ।
यसले अमेरिकासँगको सम्बन्ध तनावको उत्कर्षमा रहेका बेला बेलायतसँग पनि इरानको सम्बन्धमा तनाव देखिएको छ । इरानको उत्तरतर्फ जाँदै गरेको समुद्री ट्यांकरमा २३ जना रहेको जनाइएको छ । सो ट्यांकरलाई चारवटा पानी जहाज र एउटा हेलिकोप्टरले घेरेर राखेको विदेश मन्त्री हन्टले बताएका छन् ।
इरानले लाइबेरियाको झण्डायुक्त ट्यांकर पनि नियन्त्रणमा लिएको थियो । तर हाल सो ट्यांकर मुक्त भएको र आफ्नो यात्रा नियमित गरेको हन्टले उल्लेख गरेका छन् । अमेरिकाले इरानको एउटा ड्रोन ध्वस्त पारेको दाबी गरेको र इरानले त्यसलाई खारेज गरिरहेको अवस्थामा बेलायती ट्यांकर इरानले नियन्त्रणमा लिएको हो ।
(एजेन्सी)