सदरलाइनडटकम,
दाङ : ज्वरो र पखाला लागेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न भर्ना गरिएकी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । बिरामीको मृत्यु भएसँगै मृतकका आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका छन् ।
ज्वरो र पखालाका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका ७ सिरुखर्क निवासी ४९ वर्षीया भिमी सारुमगरको सोमवार बिहान उपचारकै क्रममा मृत्यु भएको हो । उनलाई शनिवार आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पतालमा करिब ३ घण्टा आकस्मिक कक्षमा भर्ना भएकी सारुमगरलाई स्वास्थ्यमा सुधार आएपछि अस्पतालले वार्डमा भर्ना गरेको थियो । आइतवार राति बिरामीको पिसाब रोकिएर छटपटाउन थाले पनि अस्पतालमा चिकित्सक नहुँदा बिरामीको मृत्यु भएको मृतकका श्रीमान् टीकाराम सारुमगरले बताए ।
‘हिजोसम्म बोल्ने, शौचालय जाने गरेकी थिइन, राति एक्कासि पिसाब रोकिएर छटपटाउन थालिन,’ श्रीमान सारुमगरले भने, ‘बिरामी छटपटाउन थालेपछि सुरुमा नर्सलाई बोलायौँ । तर उनले आफूलाई सुत्न पनि नदिने भन्दै हामीलाई गाली गरिन् ।’ प्रतिष्ठानमै डयुटीमा रहेकी नर्सलाई पटकपटक बोलाउँदा पनि बिरामी हेर्न नर्स नआएको सारुमगरको भनाइ छ ।
चिकित्सकहरूले भने बिरामीको मृत्यु हुनुमा चिकित्सक र अस्पतालको कुनै दोष नभएको दाबी गरेका छन् । पखालाको बिरामी भएको रक्तचाप कम भएका कारण बिरामीको मृत्यु भएको डा.जितनारायण यादवले बताए ।