सदरलाइनडटकम,
बुटवल : प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले जातीय छुवाछुत अन्त्यका लागि अभूतपूर्व जागरण आवश्यक रहेको बताएका छन् । उनले कानूनीरुपमा मुलुकमा कुनैपनि खालको भेदभाव नरहेको तर, व्यावहारिक चुनौती रहकाले त्यसको सामना सरकार र अभियान्ताहरु मिलेर गर्ने बेला आएको बताए ।
डिग्निटी इनिसियटिभ र अम्बेडक सोशियल फाउण्डेशन नेपालको आयोजनामा बुधवार बुटवलमा आयोजित दलित मानव अधिकार प्रवद्र्धनका लागि प्रदेशस्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले भेदभावको अवशेष अन्त्य गर्नका लागि जनचेतना जगाउने कार्यक्रमको स्वरुप फेर्न सुझाव दिए ।
दलित महिलालाई अनिवार्यरुपमा राज्यको निकायमा पुर्याउने काम ठूलो नीतिगत परिवर्तन भएको भन्दै उनले प्रदेश सरकार मानव अधिकार र जातीय भेदभाव अन्त्य गर्ने सवालमा गम्भिर रहेको बताए । उनले दलित समुदायका लागि कहाँ कस्तो कार्यक्रम आवश्यक हो त्यसको स्पष्ट योजना ल्याउनसमेत आग्रह गरे । प्रदेश सरकार दलित समुदायको अधिकार संरक्षण गर्न तयार रहेको बताउँदै मन्त्री केसीले सरकार मानवअधिकार र दलितमैत्री वातावरण बनाउन तत्पर रहेको जानकारी दिए ।