सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्रक्रिया शुरु

२५ माघ २०७५, शुक्रबार ११:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज : योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन बाँकेका उद्योग प्रतिष्ठानले प्रक्रिया शुरु गरेका छन् । सामाजिक सुरक्षा कोषका अनुसार बाँकेमा माघ १ गतेबाट रोजगारदातालाई सूचीकृत हुन सूचना जारी भएपछि यहाँका उद्योग प्रतिष्ठानले चासो दिएका हुन् ।
बाँकेमा स्थापना भई औषधि उत्पादन गर्दै आएको पानस फर्मास्युटिकल्सले यसअघि नै सूचीकृत हुने प्रक्रिया शुरु गरिसकेको छ । सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको पानसले सामाजिक सुरक्षा कोषमा निवेदनसमेत दिइसकेको जनाएको छ ।
कोषमा सहभागी नहुने रोजगारदाताबिरुद्ध श्रमिकले कोषमा उजुरी दिन सक्ने प्रावधान भएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले बताए । उनले उजुरीका आधारमा छानविन गरेर त्यस्ता रोजगारदातामाथि कारवाही गर्न सक्ने व्यवस्था भएको बताए । कार्यक्रम शुरुवाती चरणमै भएकाले अहिलेनै कारवाही वा सजाय जस्ता विषयलाई प्राथमिकतामा नराखिएको उनले बताए ।
कोषका कार्यकारी निर्देशक अधिकारीले नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रियामा श्रमिक मात्र नभई रोजगारदाता सबैको हित हुने गरी ल्याइएको कार्यक्रम सफल पार्नमै अहिले केन्द्रीत रहेको बताए । उनले अहिले सबै रोजगारदातालाई सूचीकृत हुन आग्रह गरे । तैपनि सूचीकृत नहुने रोजगारदातालाई श्रमिकले उजुरी दिएको खण्डमा कारवाही हुने व्यवस्था रहेको उनले बताए ।
२०७५ मंसिर ११ गतेबाट शुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म ८४० वटा रोजगारदाता सूचीकृत भएको कोषले जनाएको छ । रोजगारदाता अनलाइनको माध्यमबाट सूचीकृत हुनसक्ने छन् । रोजगारदाता सूचीकृत भएको तीन महिनापछि रोजगारदाताकै प्रमाणपत्रका आधारमा श्रमिक कार्यक्रममा सहभागी हुन पाउने अधिकारीले बताए ।
छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, पानस फर्मास्युटिक्सका प्रमुख माधव अधिकारी, नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.सुरेशकुमार कनोडिया, शिखर प्लाईउडका प्रमुख प्रदिप छाजेड लगायतको सहभागिता थियो ।

Next Post

पिङबाट लडेर कोहलपुरमा पाँच जना घाईते

२५ माघ २०७५, शुक्रबार ११:००
सदरलाइनडटकम, कोहलपुर (बाँके) : कोहलपुर औद्योगिक ब्यापार कृषि फुडफेस्टिभल तथा पर्यटन महोत्सवमा पिङ्गबाट लडेर दुई जनालाई गम्भिर चोट लागेको छ । पिङ्ग खेल्नेक्रममा पिङ्गबाट खसि सुर्खेत चिगाड गाँउपालिका बस्ने १७ बर्षीया निर्मला चन्द र बैजनाथ गाँपालिका वडा नं. ७ बस्ने १५ बर्षिया संगिता बस्नेतलाई गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालले […]

सम्बन्धित