सदरलाइनडटकम,
नेपालगञ्ज : इलाका प्रहरी कार्यालय, जमुनहा बाँकेको टोलीले कल बाइपास गर्ने उपकरणसहित एक भारतीयलाई पक्राउ गरेको छ ।
नेपालगञ्जबाट भारततर्फ जाँदै गरेका भारत मध्य प्रदेश जवलपुरका ओरुब चटर्जीलाई सो उपकरणसहित सोमबार दिउसो पक्राउ गरेको हो ।
प्रहरीले चटर्जीको साथबाट प्रहरीले कल बाइपास गर्ने उपकरण, एनसेलको १० र एनटिसीका दुई वटा तथा भारतीय नम्बरका सीमकार्ड ९ थान, एटिएम कार्ड, तिन थान मोवाइल, एक थान ल्यापटप पनि प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक बसन्तकुमार बस्नेतले जानकारी दिए ।
‘आशंका लागेर चेकजाँच गर्ने क्रममा चटर्जीलाई कल बाइपास गर्ने उपकरणसहित पक्राउ गर्न सफल भयौँ,’ उनले भने ।
उनको साथबाट कल बाइपास गर्ने पाँच थान टावर र एक थान मेसिन पनि बरामद गरेको बस्नेतले जानकारी दिए। उनी कोहलपुर क्षेत्रमा दुई दिन बसेर फर्केको प्रहरी समक्ष बयान दिएका छन् ।
केही दिनअघि जमुनहा नाका भएर कोहलपुर गएको बयान उनले दिएका छन् । पक्राउ परेका चटर्जीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाइएको सई बस्नेतले बताए ।