छोरीको हत्या भएको माइतीपक्षको दाबी

२१ पुष २०७५, शनिबार १५:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : गत पुष १७ गते नेपालगञ्जमा घरभित्रै संदिग्ध अवस्थामा शव भेटिएको माधुरी वर्णवालको हत्या गरिएको माइती पक्षले दाबी गरेको छ । नेपालगञ्जका मनिष वर्णवालसँग गएको वर्ष मंसिरमा वीरगञ्जकी २६ वर्षीया माधुरी वर्णवालको बिहे भएको थियो । छोरीको मृत्यु रहस्यमय नभई हत्या गरिएको आमा र बुवाले दाबी गरेका छन् ।
माधुरीले गत पुष १७ गते राति कोठाभित्र पंखामा झुण्डिएर आत्महत्या गरेको खबर आफूहरुलाई दिएको माधुरीका आमा पुष्पा बर्णवालले बताइन् । नेपालगञ्जमा शनिवार पत्रकार सम्मेलन गर्दै आमा पुष्पाले दाइजो नल्याएको निहुँमा घर परिवारबाट विभिन्न खालको मानसिक यातना दिँदै आफ्नी छोरीको हत्या भएको बताइन् ।
घटनापछि प्रहरी समेतलाई जानकारी निदिई ढोका तोडफेड गरी अस्पताल लगिएको भन्दै आमा पुष्पाले पूर्व योजनाअनुसार छोरीको हत्या गरिएको दाबी गरिन् । छोरीलाई यसअघि परिवारले विभिन्न खालको मानसिक यातना दिने गरेको भन्दै बुवा वेदप्रकाश बर्णवालले छोरीले आत्महत्या गर्न नसक्ने दाबी गरे ।
‘केही समयअघि छठमा वीरगञ्ज जाँदा ‘छोरी मन पर्दैन भने अलग हुनुस् भनेका थियौं’, मृतकका बुवा वेदप्रकाशले भने, ‘त्यसबेला ज्वाईले तपाईँकी छोरीलाई केही हुँदैन, म लिखित जिम्मा लिन्छु भनेका थिए । अहिले छोरीलाई मारिदिए ।’ घटनाको अघिल्लो दिन छोरीले आफूहरुलाई फोन गरी ढोका थुनेर राखेको र खानासमेत खान नदिएको जानकारी गराएको उनले बताए । माधुरीकी सासुले सम्बन्ध विच्छेद गर्न दवाव दिँदा पति मनिषले ५० प्रतिशत सम्पत्ति दिनुपर्छ भन्ने गरेको पुष्पाको दाबी छ ।
‘एउटी आमाले रुँदै न्याय मागेकी छ’, भावविह्वल हुँदैं पुष्पाले भन्नुभयो, ‘अबदेखि कुनै पनि छोरीले अनाहकमा ज्यान गुमाउन नपरोस भनेर हामी लडिरहेका छौं ।’ प्रहरीले छोरीलाई झुण्डेको अवस्थामा नदेखेरनै अत्महत्या भनेको र शुरुमा जाहेरी लिन नमानेको भन्दै माधुरीका आमाबुवाले प्रहरी अनुसन्धानमाथि आशंका जनाउँदैं पोष्टमार्टम रिपोर्ट पनि सही आउनेमा आशंका रहेको बताएका छन् ।
माधुरीका आमा पुष्पाले छोरी हत्या आरोपमा पति मनिष बर्णवाल, ससुरा गोपीचन्द्र बर्णवाल, सासू राजकुमारी देवीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दाअन्तर्गत जाहेरी दिएको बताइन् ।

Next Post

डुडुवामा सरसफाई अभियानको थालनी

२१ पुष २०७५, शनिबार १५:४८
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा चेतनामुलक सरसफाई अभियान शुरु भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिवार सरसफाई अभियान थालिएको हो । वडा न.. ४ स्थित रहेको डुडुवा पुलको सरसफाई गरि अभियानको शुरुवात गरिएको छ । वडा नं. ४ र ५ का जनप्रतिनिधी, प्रहरी, सामुदायिक बन, साझेदारी मञ्च, […]