सदरलाइनडटकम,
दाङ : दाङको राम्री बस दुर्घटनाको बिषयमा छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नं. ५ दाङका बरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।
जसको सदस्यहरुमा प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदनबहादुर कुँवर रहेका छन् । समितिले दुर्घटनाको कारण पत्ता लगाई प्रदेशप्रहरी कार्यालयलाई सुझाव दिने समितिका सदस्य पुष्प मल्लले बताए ।
उनका अनुसार यसअघि पनि दुईवटा सवारी साधन दुर्घटना भएको भन्दै सडकको अवस्था र चालकको लापरबाहीले दुर्घटना भएको भन्दै सोही ठाउँमा दुर्घटना न्यूनिकरण गर्न गर्नुपर्ने कामको बारेमा सुझाव दिईनेछ ।
राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा शुक्रवार कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयका बिद्यार्थी तथा शिक्षक चढेको नमस्ते राप्ती यातायात प्रालिको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु र १४ जना घाईते भएका थिए ।
शोकमा तुलसीपुर र घोराहीका सबै विद्यालय बन्द
तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै तुलसीपुर र घोराही उपमहानगरपालिकाभित्रका विद्यालय आईतवार बन्द गरिएका छन् । तुलसीपुर–सल्यान सडकखण्डअन्तर्गत राम्रीमा शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना भएको प्रति दुःख व्यक्त गर्दै तुलसीपुर उपमहानगर शिक्षा महाशाखाको निर्णयानुसार आईतवार सबै विद्यालय बन्द गरिएका हुन् ।
दुर्घटनामा विद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै शोकमा विद्यालय बन्द गरिएको शिक्षा शाखा सदस्य दीपक कुमालले बताए ।
त्यस्तै घोराही उपमहानगरपालिकाले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आईतवार सबै विद्यालयमा शोक विदा दिएको छ । दुर्घटनामा परी विद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा ठुलो क्षति भएको भन्दै शोकमा विद्यालय बन्द गरिएको घोराही उपमहानगरका प्रवक्ता भरत अर्याल बताए ।