बाँकेका एक युवकको साउदीमा निधन

  
  प्रकाशित मितिः आइतवार, मंसिर १६, २०७५       | 290 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा पुगेका बाँके राप्तीसोनारी गाउँपालिका–१ बैरियाका अरुण भनिने बेदनिधि चापागाईको मृत्यु भएको छ । उनको ब्रेन हेम्रेजका कारण मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।
दुई दिनअघि अत्याधिक टाउको दुखेर अचेत भएपछि चापागाईलाई अस्पताल भर्ना गरिएको थियो । ३२ बर्षीय चापागाईको शनिवार मृत्यु भएको पुष्टि भएको छ । साउदी अरबको जेद्दास्थित अलमाराई कम्पनीमा विगत अढाई वर्षदेखि कार्यरत अरुण लगनशील र कुशल सामाजिक अभियान्ताका रुपमा आफुलाई स्थापित गरेको त्यहाँ रहेका हरि कृष्ण न्यौपानेले जानकारी दिए ।
विदामा घर आउनेजाने गर्दै गरेका चापागाई पछिल्लो समय आमाको निधनपछि ८ महिनाअघि घर आएका थिए । अरुण गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समितिमा पुर्व उपाध्यक्ष, नेपाली श्रमिक सञ्जालका अभियान्तालगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध थिए । उनको शव सुलैमान फकेह हस्पिटलमा राखिएको छ ।
एनआरएनए क्षेत्रिय समन्वय समिति जेद्दाको आइतवार बसेको आकस्मिक बैठकले शोक पारित गर्दै मृतक अरुणको शव नेपाल पठाउन महावाणिज्य दूतावासमा प्रक्रिया अगाडी बढाएको छ ।

प्रकाशित मितिः आइतवार, मंसिर १६, २०७५     6:33:55 PM  |