पप्पु कन्सट्रक्शनलाई टेन्डर हाल्न बन्देज

४ मंसिर २०७५, मंगलवार १४:५४
 

सदरलाइनडटकम,
काठमाण्डौ : सरकारले पप्पु कन्सट्रक्शनलाई टेण्डर प्रक्रियामा सहभागी हुन रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले मंगलवार सूचना जारी गर्दै पप्पुलाई टेण्डर प्रक्रियामा सहभागी हुन रोक लगाएको हो । पप्पुलाई टेण्डर प्रक्रियामा सहभागी गराउँदा मुलुकलाई थप हानीनोक्सानी पर्ने भएकाले रोक लगाइएको सूचनामा उल्लेख छ ।
पप्पुलाई ठेक्का प्रक्रियामा सहभागी गराउँदा विकासमा बाधा अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्ने सरकारको निश्कर्ष छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम २ बमोजिम निमार्ण व्यवसायीको कालोसूची सम्बन्धी कारवाही प्रक्रिया नटुंगिएसम्म नयाँ खरिद कार्यमा रोक लगाइएको हो ।
ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिँचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । सिक्टाको सिफारिस अनुसार कार्यालयले पप्पु कन्स्ट्रक्शनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाएको हो ।
कालोसूचीबाट नहटेसम्म पप्पुलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन पनि कार्यालयले आग्रह गरेको छ । नहर निर्माणको काम समयमै नसकेको भन्दै सिक्टा आयोजनाले २९ कात्तिकमा निर्माण कम्पनी कोस्टाल पप्पु जेभीसँगको ठेक्का सम्झौता तोड्दै कालोसूचीमा राखेको थियो ।

Next Post

रुपन्देहीका सरकारी वकिल अख्तियारको नियन्त्रणमा

४ मंसिर २०७५, मंगलवार १४:५४
सदरलाइनडटकम, बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मंगलवार घुस लिएको आरोपमा पक्राउ गरेको छ । बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएको आरोपमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित