सदरलाइनडटकम,
नेपालगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतामा बाँकेस्थित राप्ती नदीमा अवैधरुपमा नदीजन्य सामग्री उत्खनन्मा प्रयोग भएका ढुवानी साधनलाई मंगलवार बिहान नियन्त्रणमा लिइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेसहित पुगेको प्रहरी टोलीले राप्ती नदी किनारस्थित बनकट्टी नजिकैबाट झण्डै २० वटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।
जिल्ला समन्वय समिति बाँकेको मिलेमतोमा राप्ती नदीबाट अवैधरुपमा ढुंगा, गिटी र बालुवाको उत्खनन् भइरहेको उजुरी अख्तियारमा परेपछि अख्तियारले सक्रियता देखाएको सूचना अधिकारी निराजन शर्माले जानकारी दिए ।
अख्तियारले सक्रियता देखाए पनि कारबाहीका लागि प्रहरीको कार्यक्षेत्रमा पर्ने जानकारी दिँदै सूचना अधिकारी शर्माले अनुसन्धानका क्रममा जिल्ला समन्वय समितिको संलग्नता पाइएमा भ्रष्टाचारको मुद्दा चलाइने बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बालुवा भरिरहेका ट्रयाक्टर नियन्त्रणमा लिइएको बताए । उनले प्रहरी टोलीलाई व्यक्तिगत जग्गा भएको भन्दै दाबी गरिएकाले आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए ।