सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरमा पेट्रोलियम पदार्थको अभाव भएसँगै कालोबजारी बढेको छ । पेट्रोल पम्पहरुले कृत्रिम अभाव श्रृजना गरेर कालोबजारलाई प्रश्रय दिएपनि स्थानीय प्रशासन बेखबर जस्तै बनेको सर्वसाधारणको गुनासो छ ।
दशैं तिहारको बिदाका बेला पेट्रोलियम पदार्थको आपूर्ति नभएको बहाना पारेर कञ्चनपुरमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव श्रृजना भएको छ । पम्पहरुमा डिजेल तथा पेट्रोलको अभाव भएपनि बढी मूल्य तिर्नसके बजारमै छ्याप्छ्याप्ती पाउन सकिन्छ ।
उता भारतको तुलनामा नेपालमा पेट्रोलको मूल्य ९ देखि १३ रुपैयाँ र डिजलको मूल्य ४ रुपैयाँ कम पर्ने भएकाले सीमावर्ती क्षेत्रका भारतीय नम्बर प्लेटका गाडी तेल हाल्न नेपाल आउने गर्दछन् । पम्पहरुमा तेल भएपनि सर्वसाधारणले लाइनमा बस्दासमेत पाउन सकेका छैनन् ।
पम्प छेउछेउका पसलबाट पेट्रोलियम पदार्थको खुलेयाम कालोबजारी भइरहे पनि पेट्रोलपम्प सञ्चालक रणबहादुर चन्द भने त्यसरी तेल नदिएको दाबी गर्दछन् । पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारी भए नभएको आफूहरुले निगरानी गरिरहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्ट बताउँछन् ।