सदरलाइनडटकम
नेपालगञ्ज : अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा नेपालगञ्जमा शुक्रबार शान्ति सद्भाव दौड गरिएको छ । वातावरण तथा बालअधिकार संरक्षण केन्द्र (इन्प्रोक) को आयोजनामा नेपालगञ्जको पुष्पलालचोकदेखि वीपीचोकसम्म करिव १ किलोमिटरको शान्ति सद्भाव दौडमा जिल्लास्थित विभिन्न धर्मगुरु, मानवअधिकारकर्मी, प्रहरी प्रशासनका प्रमुख र नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो । दौडको समापन समारोहलाई सम्वोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सामाजिक सद्भाव र शान्ति कायम गर्न सबै लाग्नु पर्ने बताए । उनले यस्ता गतिविधिले आपसी एकता र सद्भावमा वृद्धि हुने उल्लेख गरे ।
नेपालगञ्जमा सामाजिक सद्भाव र आपसी एकता कायम राख्ने उद्धेश्यका साथ दौड आयोजना गरिएको इन्प्रोकका अध्यक्ष तेजबिक्रम शाहले जानकारी दिए ।
उच्च अदालत वार एशोसिएयशन नेपालगञ्जका सचिव चित्र शाहीले जिल्लाका शान्ति सुरक्षा, सामाजिक सद्भाव र आपसी एकता कायम गर्न सबैका भूमिका आवश्यक रहेको बताए । इन्प्रोकले सीएसटी होटल एण्ड पार्टी प्यालेस प्रालिसँगको सहकार्यमा कार्यक्रम गरेको हो । फोटो : कृष्ण प्रसाद श्रेष्ठको फेशबुकवालबाट