सदरलाइनडटकम,
नेपालगन्ज : देशमा जताततै बलात्कारका घटना सार्वजनिक भईरहँदा बाँकेमा फेरी एक बालिका बलात्कृत भएको खुलासा भएको छ । कोहलपुरमा हजुरबुवाले आफ्नै नातीनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जमा १६ बर्षीया एक किशोरी बलात्कृत भएको रहस्य खुलेको हो ।
झारफुकका नाममा गणेशपुर बस्ने ४७ बर्षीय साईबाबा भनिने ब्यक्तिले १६ वर्षीया बालिकासँग यौनजन्य क्रियाक्लाप गरेको बिहीवार जाहेरी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले बताए ।
विरामी परेकी बालिकालाई झारफुक गर्ने नाममा ती ब्यक्तिले किशोरीलाई बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् । आफुलाई साईंबाबा भन्ने ती व्यक्तिले झारफुकको बहानामा गत बैशाखदेखि बलात्कार गर्दै आएको किशोरीले बयान दिएकी छन् । बाहिर कसैसँग कुरागरे जेपनि हुनसक्ने ती बाबाले धम्की दिएकाले डरका कारण आफुले कसैलाई कसैलाई नभनेको पीडित किशोरीले बताएको आफन्तले बताए ।
पटक–पटकको बलात्कारका कारण बालिकाले गर्भधारण गरेपछि झारफुक गर्ने बाबाले बिहीवार गर्भपतनको औषधी खुवाएको र योनिबाट रक्तश्राव नरोकिँदा ती बालिकाले आफ्नो आमालाई घटनाबारे बताएकी थिइन् । आमाले थाहा पाएपछि घटनाबारे खुलासा भएको पीडित किशोरीका काकाले जानकारी दिए । साईबाबा भनिने ती ब्यक्तिलाई पक्राउ गरी अनुसन्धान अनुसन्धान थालिएको प्रहरी निरीक्षक विष्टले बताए ।
बढैयाताल गाँउपालिका घर भई हाल नेपालगन्ज बस्दै आएकी किशोरीको बिहीवार भेरी अञ्चल अस्पतालमा उपचार गरिएको छ । उनको पेटमा गर्भ भएनभएको बारे रिपोर्ट आउन बाँकी रहेको पीडितका आफन्तले बताएका छन् । साईबाबा भनिने ती ब्यक्ति विगत केही महिनादेखि गणेशपुरमा ज्योतिषीको काम गर्दै आएका थिए ।