सदरलाइनडटकम,
नेपालगन्ज : बालिका बलात्कारको आरोपमा पक्राउ परेका हजुरबुवालाई सार्वजनिक गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाइएको छ । नातिनी बलात्कारको आरोपमा पक्राउ परेका ७९ बर्षीय हजुरबुवालाई सार्वजनिक गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई मंगलबार ज्ञापनपत्र बुझाएका हुन् ।
महिला नेत्री बसन्ती अधिकारीले बालिका बलात्कारमा संलग्न हजुरबुवालाई तत्काल सार्वजनिक गर्न माग गरिन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बलात्कारमा संलग्न व्यक्ति पक्राउ परेकोले पीडकले उन्मुक्ति नपाउने दाबी गरे ।
कोहलपुर ५ मा १३ बर्षीया नातिनीलाई उनकै हजुरबुवाले तीनबर्षदेखि लगातार बलात्कार गर्दै आएको भन्दै जाहेरी परेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले घटनाबारे अनुसन्धान भईरहेको बताए । बालिकालाई न्याय दिलाउन प्रहरी गम्भीर रहेको भन्दै उनले घटनाको निष्पक्ष अनुसन्धान हुनेमा ढुक्क रहन आग्रह गरे ।