दाता चौधराईनको स्मृती दिवसमा विविध कार्यक्रम

६ भाद्र २०७५, बुधबार १९:०७
 

सदरलाइनडटकम
नेपालगन्ज  : नेपालगन्जमा शिक्षा र स्वास्थ्य क्षेत्रमा जग्गा लगायत करोडौंको सम्पत्ती दान गरेर उदाहरणीय बन्न सफल स्वर्गीय औतार देई कसौधन चौधराइनको आठौं स्मृती दिवसमा विविध कार्यक्रम सम्पन्न भएका छन् ।
विस १९५४ मा जन्मिएकी चौधराइनको २०२८ भदौ ६ गते दिन निधन भएको थियो । स्थानीय महेन्द्र बहुमुखी क्याम्पस, भेरी अञ्चल अष्पताल, नारायण उमावि, जिल्ला जनस्वास्थ्य कार्यालयलाई जग्गा दान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पुर्याएको योगदानको स्मरण गर्दै आज बुधबार नेपालगन्ज उप–महानगरपालिका र स्व औतारदेइ कसौधन (चौधराइन) सेवा प्रतिष्ठानले छुट्टा छुट्टै कार्यक्रम गरेका हुन् ।
उप–महानगरपालिकाले विहान क्याम्पसको शालिकमा माल्याअर्पणका साथै वृक्षारोपण गरेको छ । नगर प्रमुख डा धवल शमशेर राणा, स्व औतारदेइ कसौधन (चौधराइन) सेवा प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्य, क्याम्पस प्रमुख गणेश रेग्मी लगायतले अशोका, लिचि लगायतका २० वटा विरुवा रोपेका छन् ।
यस्तै उप–महानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल, वडा अध्यक्षहरु लगायतले अस्पतालमा ८० जना विरामीलाई फलफूल वितरण गरेका छन् । नारायण माविमा एक सय विद्यार्थीलाई कापी, कलम पनि वितरण गरिएका छ ।
दिवसकै अवसरमा प्रतिष्ठानद्वारा अस्पताल परिसरमा आयोजित कार्यक्रममा दाता चौधराइनको योगदानको चर्चा गर्दै उनको शालिकमा माल्याअर्पणसहित दाता तथा समाजसेवीलाई सम्मान समेत गरिएको छ ।
शहरी विकास मन्त्री मो. इस्तियाक राइले जिर्ण भेरी अञ्चल अस्पतालको नयाँ भवन बनाइने उदघोष गरे । पश्चिम नेपाल कै पुरानो र आमजनताको स्वास्थ्य भरोसाको केन्द्रका रुपमा रहेको अस्पताललाई नयाँ स्वरुप दिन योजना र वजेट अघि सारिएको जानकारी दिए ।
उनले अस्पतालको नाम समेत परिवर्तन गर्न सकिने भन्दै मन्त्री राईले जग्गा दाता औतार देई कसौधन(चौधराइन)को नाममा राख्न आवश्यक पहल गर्न सम्वद्ध पक्षलाई आग्रह गरे । उनले नगरको समग्र विकासका लागि कयौं योजनाहरु लिपीवद्ध भइसकेको भन्दै सिटी हल, शव गृह लगायतका काम चाँडै शुरु हुने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवस्तवले दाता चौधराइनको नाममा स्थायीत्व कोष निर्माण गरि कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यक्ता औल्याए । नगर प्रमुख डा धवल शम्शेर राणाले नेपालगन्जलाई महानगरमा रुपान्तरण गर्ने अभियान शुरु भइ सकेको भन्दै सबैको साथ र सहयोगको अपील गरे ।
सोही समारोहमा कन्हैयाल वैश्य, सरदार सहदेव सिंह, जोगराज अग्रवाल(मरणोपरान्त) तथा श्रीजंग शाह, जयकेशसिंह र जगदिश प्रसाद वैश्यलाई दोसल्लासहित सम्मान गरियो ।
प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बाँकेका नेता अशोक कोइराला, पत्रकार महासंघ ५ न प्रदेशका सचिव शुक्रऋषि चौलागाई, सम्मानित व्यक्तित्वका तर्फबाट जगदिशप्रसाद वैश्य लगायतले मन्तव्य व्यक्त गरे । दाताको परिवारका तर्फबाट रमारानी वैश्यले स्वागत गर्दै उनको योगदान बारे चर्चा गरेकी थिईन भने धन्यवाद ज्ञापन भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले गरेका थिए ।

Next Post

बाँकेलाई ‘स्मार्ट’ कृषि जिल्ला बनाउने मन्त्री पौडेलको दाबी

६ भाद्र २०७५, बुधबार १९:०७
सदरलाइनडटकम, बाँके (डुडुवा) : प्रदेश नं. ५ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बाँकेलाई स्मार्ट कृषि जिल्लाको रुपमा विकास गरिने बताएकी छन् । डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियास्थित जनएकता सामुदायिक बहुउद्देशीय सहकारी संस्था लिमिटेडको कृषि गोदाम भवन उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । मन्त्री पौडेलले वातावरणको […]

सम्बन्धित