सदरलाइनडटकम, नेपालगन्ज : सशस्त्र प्रहरीले ठूलो परिमाणमा कालो मरिच बरामद गरेको छ । नेपालगन्जबाट अवैधरुपमा भारत निकासी गर्न लागिएको २ सय ४० किलो मरिच सशस्त्र प्रहरीले जमुनहाबाट बरामद गरको हो ।
ना २ स ७२६ नं. को अटोरिक्सामा मरिचको बोरा राखेर भारत लैजान लागेको आएको सुचनाका आधारमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय महेन्द्रनगर हाल सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नं. ३० गण बाँकेबाट गएको सशस्त्र प्रहरी सहायक निरीक्षक शेरबहादुर बिसी नेतृत्वको टोलीले दशगजाबाट नियन्त्रणमा लिएको थियो ।
बरामद गरिएको १ लाख ५६ हजार बराबरको मरिच र १ लाख मूल्य बराबरको अटोरिक्सा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको ३० नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले बताए । यति ठूलो परिमाणमा बाँकेमा कालो मरिच समातिएको सम्भवतः यो पहिलो घटना भएको उनले जानकारी दिए ।
चालु आर्थिक वर्ष ०७५/०७६ मा कुखुरा, लत्ताकपडा, मरिच गरी हालसम्म साढे ३ लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक शाहले बताए ।