सदरलाइन / राज सुवेदी
नेपालगन्ज : बाँकेमा भएका सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या वर्षेनी बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकले आर्थिक वर्ष २०७४/०७५को असार मसान्तसम्म सडक दुर्घटनामा परेर ३८ जनाले ज्यान गुमाएको जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ मा बाँकेमा सडक दुर्घटनामा परेर २७ जनाले ज्यान गुमाएका थिए ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका ईन्चार्ज समेत रहेका प्रहरी निरिक्षक हिरेन्द्र रोकायले दिएको जानकारी अनुसार सडक दुर्घटनामा परेर ज्यान गुमाउने मध्ये २६ पुरुष, ७ महिला र बालक ५ छन् । उनले बढ्दो सवारी चाप, चालकको लापरवाही मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृति र सडकको बिग्रिदो अवस्थाको कारणले दुर्घटना बढेको पाईएकोे बताए ।
जिल्ला ट्राफिक कार्यालय बाँके आर्थिक वर्ष २०७४/०७५ मा सवारी नियम उल्ङघन गर्नेहरु १९ हजार ५ सयलाई कारवाही गरेको र त्यसबाट १ करोड ९५ लाख ५ सय रुपैया राजस्व संकलन भएको जनाएको छ । यसअघि आर्थिक वर्ष २०७३/०७४ मा गरिएको ११ हजार ७ सय ३१ कारवाहीबाट ६३ लाख ५३ हजार ५ सय राजश्व संकलन भएको थियो । (प्रशिक्षार्थी)