सदरलाइनडटकम
२५ चैत, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका वडा नंं १७ परसपुरमा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशु स्वास्थ्यलाई मध्यनजर गर्दै उप–महानगर पशु सेवा शाखाको आयोजनामा एक दिने पशु स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
परसपुर दक्षिण आँपबगियामा आयोजना गरिएको शिविरको नेपालगन्ज उप–महानगरपालिकाका वडान १७ का अध्यक्ष अजयकुमार पाठकले बाख्रालाई जुकाको औषधि खुवाएर शिवीरको उदघाटन गरेका हुन ।
अध्यक्ष पाठकले पशुको स्वास्थ्य परिक्षणले पशुको स्वास्थ्य स्थिती पत्ता लागेसँगै क्षती नोक्सानी हुनबाट बचाउन सकिने विश्वास व्यक्त गरे । उनले पशुधनीलाई आफ्नो पशुको स्वास्थ्य जाँच गराउदै हुनसक्ने क्षतिबाट बच्नको लागि पुर्व सचेतना अपनाउन पनि अपील गरेका छन् ।
सञ्चालित शिविरमा पशु सेवा शाखाका डा. अपार पौडेल, जिल्ला पशु सेवाका पशु विकास अधिकृत गणेशबहादुर पुन, पशु सेवा प्राविधिक भोजबहादुर रावल र नायब पशु स्वास्थ्य प्राविधिक महेशसिंह ठकुरी लगायतले पशुको स्वास्थ्य जाँच गरेका थिए ।
एक सय १२ घरधुरीका ४ सय ५० पशुको स्वास्थ्य परिक्षण गरिएको डा पौडेलले जानकारी दिए । उनले शिविरमा आएका पशुको स्वास्थ्य परिक्षण, औषधोपचार गर्नुका साथै स्वास्थ्य सेचतना पनि दिईएको बताए ।