Sadarline
२०८३ असोज २९ , बिहीबार

स्टार पोलीपाइप इन्डष्ट्रिज उद्योगको लागत विस्तार



नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका–१८ मा दुई करोडको लगानीमा निर्माण शुरु भएको स्टार पोलीपाइप इन्डष्ट्रिज उद्योगले लागत विस्तार गरेको छ । स्टार पोलीपाईप उद्योगका अध्यक्ष कमल कार्कीका अनुसार हाल उद्योगको लागत ३० करोड रुपियाँ पुगेको छ ।

एचडिपिई पाइपबाट उत्पादन गर्दै आइरहेको उद्योगले यस आर्थिक वर्षदेखि सिपिभिसी, पिभिसी, बोरवेल, ड्रेन पाइप र गार्डेन पाइप तथा फिटिङ्सका लागि उद्योगको क्षमता बिस्तार गरिएको अध्यक्ष कार्कीले बताए ।

अध्यक्ष कार्कीले भने, “आर्थिक मन्दीको समयमा उद्योगमा लगानी विस्तार गर्नु चुनौती भएपनि मागका आधारमा लगानी विस्तार गरेका छौँ ।“ करिब डेढ बिघा जग्गामा उद्योग स्थापना भई उत्पादन गर्दै आएको बताउँदै अध्यक्ष कार्कीले करिब २० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको बताए । उद्योग विस्तारपछि रोजगारी पाउनेको सङ्ख्या पनि बढ्नेछ । नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगले गुणस्तरीय पाइप उत्पादन गर्दै आएको जनाएको छ ।

नेपालगञ्जका उद्योगहरूबाट उत्पादित पाइप अधिकांश कर्णाली तथा सुदूरपश्चिमका पहाडी जिल्लामा खपत हुने गरेको छ । तराईका जिल्लामा पनि खानेपानी आयोजनामा पाइपको प्रयोग हुन्छ ।

बाँकेमा पछिल्लो समय आधा दर्जन यसखालका उद्योगहरू सञ्चालनमा छन् । खानेपानी र सिँचाइका लागि आवश्यक कालो पाइप निर्माण गर्ने उद्योगहरूले कच्चा पदार्थ भने भारत तथा तेस्रो मुलुकबाट आयात गर्ने गरेका छन् ।

प्लाष्टिक पाइप उत्पादनका लागि आवश्यक कच्चा पदार्थको मूल्य बर्सेनि वृद्धि भएपनि स्वदेशमा प्लाष्टिक पाइपको मूल्य न्यूनतम कायम गरिएका कारण बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भइरहेको उद्योगीहरूको गुनासो छ ।

प्रकाशित मिति : २०८० मंसिर १२ गते मंगलबार
ताजा समाचार