२०८३ कात्तिक २० , बिहीबार
Sadarline
२०८३ कात्तिक २० , बिहीबार

बर्दियामा डिजिटल प्रविधिमार्फत कक्षाकोठाको सिकाइ सुधार्ने प्रयास



ठाकुरबाबा (बर्दिया) : बाँके युनेस्को क्लब, राधाकृष्ण थारू जनसेवा केन्द्र र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत परम्परागत शिक्षण विधिलाई प्रविधिसँग जोड्दै विद्यार्थीको सिकाइलाई थप रोचक, अन्तरक्रियात्मक र प्रभावकारी बनाउने प्रयास बर्दियामा अघि बढाइएको छ ।

गत कात्तिक १७ र १८ गते तालिम सञ्चालन गरिएको तालिमबाट परियोजनाले विद्यालयको शिक्षण पद्धतिमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित जिल्लका सात स्थानीय तहका ३६ जना शिक्षकलाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सम्बन्धी तालिम दिइएको छ ।

बढैयाताल, गुलरिया, मधुवन, बारबर्दिया, ठाकुरबाबा, राजापुर र गेरुवाका विद्यालयबाट सहभागी शिक्षकहरूलाई दुईदिने तालिममार्फत डिजिटल शैक्षिक सामग्रीको प्रयोग, प्रविधिमैत्री पाठयोजना निर्माण तथा विद्यार्थीकेन्द्रित शिक्षण विधिबारे अभ्यास गराइएको हो ।

तालिममा शिक्षकहरूलाई प्रविधिलाई शिक्षणको सहायक सामग्रीका रूपमा मात्र नभई विद्यार्थीको सिकाइ प्रक्रियालाई सक्रिय बनाउने माध्यमका रूपमा उपयोग गर्न सहजीकरण गरिएको थियो । डिजिटल प्लेटफर्म, शैक्षिक सामग्रीको छनोट र प्रयोग तथा विषयअनुसार प्रविधिमा आधारित पाठयोजना निर्माणमा विशेष जोड दिइएको थियो ।

तालिमका सहभागिलाई सैद्धान्तिक ज्ञानसँगै समूहकार्य, प्रदर्शन, छलफल र व्यावहारिक अभ्यास गराइएको तालिममा सहभागी शिक्षकहरूले आफूले अध्यापन गर्ने विषयअनुसार डिजिटल सामग्री प्रयोग गरी पाठयोजना तयार परिएको थियो ।

बदलिँदो शैक्षिक परिवेशमा प्रविधिको प्रयोगले शिक्षकको अध्यापन शैलीमा नवीनता ल्याउनुका साथै विद्यार्थीलाई सिकाइमा बढी सक्रिय बनाउन सक्ने अपेक्षा गरिएको बाँके युनेस्को क्लवका अध्यक्ष परवेज अलि सिद्दिकीले जानकारी दिए । उनले तालिमबाट प्राप्त सीपलाई विद्यालयको नियमित शिक्षण अभ्यासमा लागू गर्न सके कक्षाकोठाको सिकाइ प्रक्रियामा सकारात्मक परिवर्तन आउने विश्वास ब्यक्त गरे ।

बालबालिका, किशोरकिशोरी तथा युवाको गुणस्तरीय शिक्षा, संरक्षण र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित सुरक्षित भविष्य परियोजनाले शिक्षकको क्षमता विकासलाई पनि शैक्षिक गुणस्तर सुधारको महत्वपूर्ण आधारका रूपमा अघि बढाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते बिहीबार
ताजा समाचार