Sadarline
२०८३ असोज २५ , आइतबार

गैरसैनिकलाई सैनिक ड्रेस लगाउन निषेध



सदरलाइनडटकम,
डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउने खालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ । जिल्लामा अधिकांशले त्यस्तो पोशाक लगाउने गरेकाले उक्त पोशाक नलगाउन प्रशासनले परिपत्र जारी गरी सबैमा आग्रह गरेको छ ।
प्रशासनले गैरसैनिकलाई कम्ब्याट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई निर्देशनसहितको पत्राचार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।
नेपाली सेनाका सकल दर्जाले लगाउने सैनिक पोशाक स्थानीय बजारमा सहजरुपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले व्यक्तिले ‘फेशन’का रूपमा उक्त पोशाक प्रयोग गरेकाले यसलाई निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
केही महिना पहिले गृह मन्त्रालयले गरेको परिपत्रअनुसार जिल्लामा गैरसैनिक नागरिकलाई ‘कम्ब्याट’ पोशाक लगाउन निषेध गरिएको यो पहिलोपटक हो । जिल्लाका विभिन्न बजारका पसलमा रहेका त्यस्ता पोशाक (जुत्तासमेत) खरीद गरेको ठाउँमै फिर्ता गर्न व्यवसायीलाई समेत प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७६ भदौ ७ गते शनिबार
ताजा समाचार