Sadarline
२०८३ असोज २९ , बिहीबार

नुवाकोटबाट फर्किदा केही आँसु, केही मौनता र नबिर्सिने संवेदना



अधिवक्ता मीना पराजुली  

   विक्रम संवत २०८३ भदौ १० गते (२०२६ अगस्ट २६) को बिहान भोटेकोशीमा आएको आकस्मिक बाढीले केही घण्टा मै परिचित भूगोललाई अपरिचित बनाइदियो । नदीको बहावसँगै घर, सडक, पुल, जीविकाका आधार र मानिसका वर्षौंका स्मृतिहरू बगेर गए । रसुवाको सीमावर्ती क्षेत्रमा उत्पन्न भएको ठूलो बहाव भोटेकोशी हुँदै तलतिर फैलिँदा नदी किनारका बस्तीहरू प्रभावित भए । प्रारम्भिक प्राविधिक अध्ययनहरूले ल्हेन्दे खोलाको बहाव केही समय अवरुद्ध भई अस्थायी ताल बनेको र प्राकृतिक अवरोध भत्किएपछि ठूलो मात्रामा पानी एक्कासि तलतिर बगेको देखाएका छन तर, स्थानीयका लागि त्यो प्राविधिक घटना थिएन । त्यो बाँच्ने, परिवार जोगाउने, सुरक्षित ठाउँ खोज्ने र हराइरहेका आफन्तको खबर पर्खने समय थियो । बाढीको प्रभाव रसुवा हुँदै नुवाकोट र धादिङतर्फ फैलिँदा घर र संरचनासँगै मानिसका जीवन, सम्बन्ध र भविष्य पनि प्रभावित भए । बाहिरबाट हेर्दा उद्धार, राहत र भग्नावशेष देखिन्थे; नजिक पुग्दा त्यसको पछाडि डर, शोक, असुरक्षा र अनिश्चितताको अर्को संसार थियो ।

त्यही मानवीय पक्षसँग जोडिएर मैले नुवाकोटमा ३५ दिन बिताए । नुवाकोट पुगेपछि सुरुमा देखिने दृश्य राहतको थियो । चामल, दाल, पानी, कपडा, कम्बल, औषधि र सरसफाइका सामग्री लिएर मानिसहरू प्रभावित समुदायसम्म पुगिरहेका थिए । स्वयंसेवक, सुरक्षाकर्मी, स्थानीय सरकार, समुदाय र विभिन्न संस्थाका मानिसहरू आ–आफ्नो ठाउँबाट सक्रिय थिए । तत्कालीन आवश्यकता पूरा गर्नु सबैको प्राथमिकता थियो ।

राहतको सूचीभन्दा मानिसका आवश्यकता धेरै फराकिला रहेछन । कसैलाई खाना, औषधि र सुरक्षित बस्ने ठाउँ चाहिएको थियो; कसैलाई हराइरहेको परिवारको सदस्यको खबर । कसैलाई डराएको बच्चाको मन बुझिदिने मानिस चाहिएको थियो, कसैलाई गुमाएको अभिभावकको अभावमा साथ दिने कोही । र कतिपयलाई कुनै वस्तु होइन, केवल आफ्ना कुरा सुनिदिने एउटा संवेदनशील मन चाहिएको थियो ।

परिवारका एक सदस्यले मलाई हेर्दै भने, “मेरो घरमुनि मेरो परिवारका सात जना छन, कृपया निकालिदिनुहोस” उहाँले औँल्याइरहनुभएको ठाउँमा घरको कुनै नामोनिसान थिएन । बाढी र पहिरोले सबै बगाइसकेको थियो । उहाँको आवाजमा मिसिएको निराशा र आँखाबाट बगेका आँसु देख्दा म आफूलाई सम्हाल्न सकिनँ । मानवीय सेवाको क्रममा आफूलाई बलियो राख्न खोजे पनि त्यो क्षणमा भावनालाई थाम्न सकिनँ । त्यो दिन म धेरै रोए । त्यो क्षणमा मानवीय सेवामा काम गर्ने मानिसले आफूलाई सधैं बलियो राख्नुपर्छ भन्ने मेरो धारणा केही कमजोर भयो ।

परिवारका सदस्य हराएका मानिसहरूसँगका भेटहरू मेरा लागि सबैभन्दा कठिन रहे । प्रहरी तथा सुरक्षाकर्मीका कार्यालयमा हराइरहेका मानिसका तस्बिरहरू टाँसिएका थिए । आफन्तहरू कुनै नयाँ सूचना आउँछ कि भनेर प्रतीक्षामा थिए । ती तस्बिरमा एउटा अनुहार देखिन्थ्यो, तर त्यसको पछाडि एउटा पूरा परिवार थियो । त्यही क्रममा एउटा परिवारसँगको भेट मेरो मनमा गहिरो गरी बसेको छ । परिवारका एक सदस्यले मलाई हेर्दै भने, “मेरो घरमुनि मेरो परिवारका सात जना छन, कृपया निकालिदिनुहोस” उहाँले औँल्याइरहनुभएको ठाउँमा घरको कुनै नामोनिसान थिएन । बाढी र पहिरोले सबै बगाइसकेको थियो । उहाँको आवाजमा मिसिएको निराशा र आँखाबाट बगेका आँसु देख्दा म आफूलाई सम्हाल्न सकिनँ । मानवीय सेवाको क्रममा आफूलाई बलियो राख्न खोजे पनि त्यो क्षणमा भावनालाई थाम्न सकिनँ । त्यो दिन म धेरै रोए । त्यो क्षणमा मानवीय सेवामा काम गर्ने मानिसले आफूलाई सधैं बलियो राख्नुपर्छ भन्ने मेरो धारणा केही कमजोर भयो । अगाडि कुनै ‘केस’ थिएन । एउटा परिवार थियो, सात जना मानिसको खोजी थियो र एउटा यस्तो पीडा थियो, जसलाई कुनै तथ्यांकले पूरा रूपमा समेट्न सक्दैन ।

अर्को दृश्य त्रिशूली नदीको किनारमा देखेँ । केही आमाबुबा आफ्ना सन्तान खोजिरहेका थिए । कोही बालुवा चलाइरहेका थिए, कोही पानीतिर हेरिरहेका थिए । नदी बगिरहेको थियो, समय बितिरहेको थियो, तर उनीहरूको प्रतीक्षा रोकिएको थिएन । त्यो पीडामा मलम लगाउने पर्याप्त शब्द मसँग थिएनन्। केवल टाढाबाट हेर्न सकिन्थ्यो । अभिभावकले आफ्नै सन्तानलाई नदीको किनारमा खोज्नुपर्ने अवस्था देख्दा मनमा एउटा प्रश्न उठ्यो आफ्नो सन्तान गुमाउनुजत्तिको ठूलो पीडा अभिभावकका लागि अरू के हुन सक्छ ?

होल्डिङ्ग सेन्टरदेखि समुदायसम्म पुग्दै जाँदा मानिसहरूसँगको कुराकानी पनि विस्तारै फरक हुँदै गयो । सुरुमा कुरा खाना, औषधि, बस्ने ठाउँ र अन्य आवश्यकताबाट सुरु हुन्थ्यो । तर बिस्तारै उनीहरूको मनभित्रको पीडा र डरका कुरा पनि बाहिर आउन थाले । “मलाई घरको धेरै याद आउँछ”, “बच्चा राति सुत्दैन”, “अब हाम्रो के हुन्छ?”, “उहाँ कहिले फर्किनुहुन्छ, थाहा छैन” यस्ता वाक्यहरू राहतको विवरणमा लेखिँदैनथे । तर वास्तवमा ती नै उनीहरूले भोगिरहेको अवस्थाका सबैभन्दा सजीव कथा थिए । बालबालिका र किशोरकिशोरीहरूसँग कुरा गर्दा विपद्को असर झन गहिरो देखिन्थ्यो ।

कतिपयसँग बोल्ने शब्द हुँदैनथे, आँखामा आँसु मात्र हुन्थ्यो । विशेष गरी ती बालबालिका र किशोर किशोरीहरूको अवस्था संवेदनशील थियो, जो बाढीपछि आफ्ना अभिभावक वा परिवारका सदस्यबाट छुट्टिएका थिए । सुरक्षित ठाउँमा पुगे पनि उनीहरूको मन भने घर र परिवारमै थियो । “आमा कहाँ हुनुहुन्छ ?”, “बुबा कहिले आउनुहुन्छ ?” जस्ता प्रश्न उनीहरूको मनमा घुमिरहेका हुन्थे । उनीहरू सुरक्षित ठाउँमा थिए, तर आफूलाई सुरक्षित महसुस गर्ने आधार भने हराएको थियो । विपद्ले उनीहरूको घर र सामान मात्र बगाएको थिएन; परिवारसँग जोडिएको भरोसा र सुरक्षाको अनुभूति पनि हल्लाइदिएको थियो । त्यसैले विपद्पछि पुनर्स्थापना भनेको घर र सडक बनाउनु मात्र होइन । घर र पुल बनाउन सकिन्छ । तर बालबालिकाले गुमाएको सुरक्षा र विश्वास फर्काउन समय लाग्छ ।

कसैलाई बाढीको पानी र गर्जन सम्झँदा डर लाग्थ्यो, कसैलाई रात परेपछि निदाउन गाह्रो हुन्थ्यो । कोही आफ्नो घर सम्झन्थे, कोही आमाबुबा वा परिवारका सदस्य । केही आफूले भोगेको कुरा भन्न खोज्दा बीचमै रोकिन्थे । कतिपयसँग बोल्ने शब्द हुँदैनथे, आँखामा आँसु मात्र हुन्थ्यो । विशेष गरी ती बालबालिका र किशोर किशोरीहरूको अवस्था संवेदनशील थियो, जो बाढीपछि आफ्ना अभिभावक वा परिवारका सदस्यबाट छुट्टिएका थिए । सुरक्षित ठाउँमा पुगे पनि उनीहरूको मन भने घर र परिवारमै थियो । “आमा कहाँ हुनुहुन्छ ?”, “बुबा कहिले आउनुहुन्छ ?” जस्ता प्रश्न उनीहरूको मनमा घुमिरहेका हुन्थे । उनीहरू सुरक्षित ठाउँमा थिए, तर आफूलाई सुरक्षित महसुस गर्ने आधार भने हराएको थियो । विपद्ले उनीहरूको घर र सामान मात्र बगाएको थिएन; परिवारसँग जोडिएको भरोसा र सुरक्षाको अनुभूति पनि हल्लाइदिएको थियो । त्यसैले विपद्पछि पुनर्स्थापना भनेको घर र सडक बनाउनु मात्र होइन । घर र पुल बनाउन सकिन्छ । तर बालबालिकाले गुमाएको सुरक्षा र विश्वास फर्काउन समय लाग्छ । त्यसका लागि निरन्तर हेरचाह, शिक्षा, संरक्षण र मनोसामाजिक सहयोग आवश्यक हुन्छ ।

विपद्को समयमा हामी संख्या गन्छौँ कति परिवार प्रभावित भए, कति घरमा क्षति भयो, कति मानिस विस्थापित भए । यी तथ्यांक आवश्यक छन्। तर प्रत्येक संख्याको पछाडि एउटा परिवार हुन्छ । एउटा हराएको मानिसको पछाडि प्रतीक्षामा बसेको परिवार हुन्छ । एउटा घर भत्किँदा त्यससँगै सम्झना, सुरक्षा र वर्षौंको जीवन पनि भत्किएको हुन्छ ।

कसैका लागि विपद् घरको भग्नावशेषमा थियो। कसैका लागि परिवारको खाली भएको ठाउँमा, कसैका लागि राति दोहोरिने सम्झनामा, कसैका लागि दिदी–बहिनी, दाजु–भाइ, श्रीमान वा श्रीमतीको प्रतीक्षामा बितिरहेका दिनमा र कसैका लागि अझै नआएको एउटा फोन वा खबरमा प्रतीक्षाको पनि एउटा थकान हुन्छ । तर प्रियजनको खबरको प्रतीक्षामा बसेका परिवारका लागि त्यो थकानको अन्त्य कहिले हुन्छ, कसैलाई थाहा छैन ।

भोटेकोशीको पानी घट्यो । तर केही मानिसको मनभित्रको भेल अझै बाँकी छ । नुवाकोटबाट फर्किँदा मैले केवल ३५ दिनको काम पूरा गरेर फर्किएको महसुस गरिनँ । केही अनुहार, केही आवाज, केही मौनता र केही प्रश्न मनमा बोकेर फर्किए । शरीर यहाँ छ, तर मनको एउटा हिस्सा अझै त्यहीँ कतै छ, होल्डिङ्ग सेन्टरमा भेटिएका किशोरीहरूसँग, परिवार खोजिरहेका मानिसहरूसँग, हराइरहेका आफन्तका तस्बिरहरूसँग र त्रिशूली किनारमा आफ्ना सन्तान खोजिरहेका आमाबुबासँग ।

नदी बगिरहेको थियो । उनीहरू खोजिरहेका थिए । म हेरिरहेको थिए । त्यो दिन मसँग कुनै उत्तर थिएन । आज पनि कहिलेकाहीँ त्यही प्रश्न आउँछ, आफ्ना सन्तान खोजिरहेका ती आमाबुबाको प्रतीक्षाको अन्त्य कहाँ भयो?मसँग त्यसको उत्तर छैन । तर ३५ दिन नुवाकोटमा बिताएपछि एउटा कुरा भने स्पष्ट भयो, राहत दिएर फर्किन सकिन्छ, काम पूरा गरेर फर्किन सकिन्छ; तर कसैको पीडा देखेपछि मनबाट पूर्ण रूपमा फर्किन सकिँदैन ।

त्यसैबीच, मैले विपद्को अर्को पाटो पनि देखेँ, यसले मानिसलाई तोड्छ, तर त्यही मानिसभित्र फेरि उभिने साहस पनि छोडेर जान्छ । घर गुमाएका मानिसहरू फेरि घर बनाउने कुरा गरिरहेका थिए । जीविका गुमाएकाहरू काममा फर्किने बाटो खोजिरहेका थिए । बालबालिकाहरू विद्यालय फर्किने दिन पर्खिरहेका थिए । आफ्नै दुःखका बीच पनि मानिसहरू एकअर्काको हात समातिरहेका थिए । सायद पुनर्स्थापनाको सुरुवात यहीँबाट हुन्छ । सबै कुरा पहिलेको जस्तै हुन्छ भन्ने अपेक्षाबाट होइन, भत्किएको ठाउँबाट पनि जीवनलाई फेरि अघि बढाउन सकिन्छ भन्ने विश्वासबाट ।

नुवाकोटले मलाई यही विश्वास दिएर फर्कायो । केही घाउ निको हुन समय लाग्छ, केही प्रतीक्षाको उत्तर कहिल्यै आउँदैन र केही सम्झना जीवनभर मनमा रहन्छन तर, त्यसबीच पनि मानिसहरू बाँच्ने कारण खोजिरहेका छन, आफ्ना परिवार सम्हालिरहेका छन र भोलिको दिनतर्फ हेर्न सिकिरहेका छन । मैले त्यहाँ देखेको सबैभन्दा ठूलो आशा यही थियो । दुःखले जीवन रोक्न सक्छ, तर मानिसको अघि बढ्ने चाहना सधैं रोक्न सक्दैन । नुवाकोटबाट म पनि त्यस्तै केही लिएर फर्किए, केही आँसु, केही प्रतीक्षा र मान्छेप्रतिको अझ गहिरो संवेदना ।

लेखक परिचय : अधिवक्ता मीना पराजुली मानवीय सहायता तथा विपद् प्रतिकार्यका क्षेत्रमा लामो समयदेखि कार्यरत छन् ।

प्रकाशित मिति : २०८३ असोज २९ गते बिहीबार
ताजा समाचार