समाचार सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनको बजारीकरणबाट ग्रामीण अर्थतन्त्र सुदृढ हुने भन्दै बगालेमा स्थापना गरिएको हाटबजारमा स्थानीय कृषि उपजलाई मात्र प्राथमिकता दिन आग्रह गरेका छन्।
- उनले किसानलाई व्यावसायिक तथा अर्गानिक खेतीतर्फ आकर्षित हुन आह्वान गर्दै प्रदेश सरकारले कृषि आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकतामा राखेको बताए।
- प्रत्येक शनिबार सञ्चालन हुने हाटबजारले स्थानीय किसानलाई आफ्ना उत्पादन प्रत्यक्ष बिक्री गर्ने अवसर प्रदान गर्दै ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्याउने अपेक्षा गरिएको छ।

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनको बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्न सक्ने बताएका छन् ।
सरुमारानी गाउँपालिका वडा नम्बर २ बगालेमा स्थापना गरिएको हाटबजारको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हाटबजारमा स्थानीय किसानले उत्पादन गरेका वस्तुलाई मात्रै प्राथमिकता दिनुपर्ने बताएका हुन ।
उनले भारतबाट आयात गरिएका तरकारी तथा अन्य कृषि उपज बिक्रीका लागि नराखी स्थानीय किसानले उत्पादन गरेका तरकारी, फलफूल, मह, घ्यू तथा अन्य कृषि उपज बिक्री गर्नुपर्नेमा जोडदिए ।
‘यो हाट बजार स्थानीय उत्पादनको बजार बन्नुपर्छ’–उनले भन–‘यसबाट किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र स्थानीय अर्थतन्त्र पनि बलियो बन्छ ।’
मुख्यमन्त्री आचार्यले बगालेमा स्थापना गरिएको हाटबजार दाङ, अर्घाखाँची, रोल्पा र गुल्मीसम्मका उपभोक्ताले सहज रूपमा किनमेल गर्न सक्ने उपयुक्त स्थानमा रहेको उल्लेख गरे ।
प्रदेश सरकारले कृषि क्षेत्रको यान्त्रिकिकरण, व्यवसायीकरण तथा अर्गानिक उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उनले किसानलाई व्यावसायिक र अर्गानिक खेतीतर्फ आकर्षित हुन आग्रह गरे ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले स्थानीय कृषि तथा पशुजन्य उत्पादनलाई प्रवद्र्धन गर्दै त्यसलाई उद्यमसँग जोड्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
उनका अनुसार कार्यक्रममा कोसेली घर, संकलन केन्द्र र हाट बजारको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी सामाजिक उद्यमी सहकारी संस्थालाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य तुलसीराम शर्माले यस क्षेत्रको कृषि विकासका लागि सिँचाइ सबैभन्दा ठूलो चुनौती रहेको बताउँदै राप्ती नदीको पानी लिफ्ट इरिगेसनमार्फत ल्याउन सके यस क्षेत्रको कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने धारणा राखे ।
उनले सिँचाइ पूर्वाधार विस्तारमा प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । हेफर इन्टरनेशनल नेपालका बरिस्ठ कार्यक्रम प्रबन्धक प्रकाश केसीले किसानलाई आत्मनिर्भर बनाउने, उत्पादनको बजारीकरण गर्ने र आयआर्जन वृद्धि गर्ने उद्देश्यले हाट बजार स्थापना गरिएको बताए ।
त्यसैगरी संविधान सभा सदस्य धनबहादुर रायमाझीले किसानले आफ्ना उत्पादनको मूल्य आफैं निर्धारण गर्न सक्ने वातावरण सिर्जना हुनु सकारात्मक भएको उल्लेख गरे ।
हाट बजार प्रत्येक शनिबार सञ्चालन हुने व्यवस्था गरिएको छ । यसबाट स्थानीय किसानले आफ्ना उत्पादन प्रत्यक्ष रूपमा उपभोक्तासम्म पु¥याउने अवसर पाउने र कृषि उत्पादनको बजारीकरणसँगै ग्रामीण अर्थतन्त्रलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ । पालिकाका उपाध्यक्ष वसन्ता खड्काको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण वेदराज पाण्डेले गरेका थिए ।

