समाचार सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा भावना, नैतिक शिक्षा र संस्कृतिको संरक्षणमार्फत समाज परिवर्तन गर्न सकिने बताएका छन् ।
- बर्दियामा आयोजित कार्यक्रममा उनले धर्म र संस्कृतिबाट टाढा हुँदा समाज विकृति र अराजकतर्फ उन्मुख भएको उल्लेख गर्दै नेपालीपन र सामाजिक सद्भाव पुनःस्थापना गर्नुपर्ने धारणा राखे ।
- कार्यक्रममा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना ले समाज सुधारका लागि नैतिक शिक्षालाई प्राथमिकतामा राखेर योजना बनाइने बताए ।

बर्दिया : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मानिसमा सेवाको भावना विकास गर्दै समाज परिवर्तन गर्न सकिने बताएका छन् ।
श्रीकृष्ण प्रणामी मन्दिर एकाई सेवा समितिले मधवुन–४ ढोढरी, बर्दियामा ८ औं बार्षिकोत्सव तथा गुरु श्यामदासजीको ३२ औं बार्षिक पुण्य तीथिको अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले समाज रुपान्तरण गर्न, समाजमा रहेका बैरभाव अन्त्य गर्न तथा सकारात्मक सिद्धान्तलाई जनतास्तरसम्म पु¥याउन आवश्यक रहेको बताएका हुन ।
उनले अहिले समाज विकृति र विसंगतितर्फ उन्मुख हुनुमा धर्म, संस्कृति र नैतिक शिक्षाबाट टाढा हुनु मुख्य कारण रहेको उल्लेख गरे । ‘हामीले धर्म भुल्यौं । संस्कृतिको नास ग¥यौं । पुर्खाहरुले अवलम्बन गरेका राम्रा कुराहरुलाई नराम्रो देख्न थाल्यौं,’ उनले भने,‘नैतिक शिक्षालाई च्यात्दा गर्व गर्न थाल्यौं । संस्कृतिको किताब च्यात्दा आफुलाई ठूलो क्रान्तिकारी ठान्यौं । त्यसैको परिणाम आज मुलुक अराजकतर्फ उन्मुख भएको छ ।’

मुख्यमन्त्री आचार्यले समाजलाई फेरि नेपालीपनसँग जोड्न आवश्यक रहेको बताउँदै एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले पनि त्यसको पीडा महसुस गर्ने सामाजिक संस्कारको पुनःस्थापना गर्नुपर्ने धारणा राखे ।
उनले योग र आराधनाबाट स्वस्थ समाज निर्माण गर्न सकिने उल्लेख गर्दै संघीयतापछिको परिवर्तनलाई वस्तुगत ढंगले मूल्यांकन गर्न आग्रह गरे । ‘बर्दिया पहिले कस्तो थियो र अहिले कस्तो भयो भन्ने ठोस मूल्यांकन गर्न जरुरी छ,’ उनले भने, ‘विकास निर्माणमा ठूलो परिवर्तन आएको छ । तर गलत ढंगले भ्रम छर्ने काम भयो र त्यसको परिणाम अहिले भोगिरहेका छौं ।’
मुख्यमन्त्री आचार्यले निर्णय गर्दा सही र गलत छुट्याउन सक्नुपर्नेमा जोड दिँदै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि विगतमा सरकारले काम गरिरहेको तर, वर्तमान संघीय सरकारले ति कामहरुलाई विथोल्नेगरी भूमिका अगाडी बढाएको प्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले समाज सुधारका लागि नैतिक शिक्षालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना बनाउने बताए ।


