होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना गरिदै

सदरलाइन संवाददाता २४ चैत्र २०८२, मंगलवार १९:५८
 
समाचार सारांश
Generated Using AI
  • होटल पौवा प्रालिले १०औँ वार्षिकोत्सवको अवसरमा देशभर ‘स्वाद उत्सव’ तथा विविध कार्यक्रम आयोजना गर्ने भएको छ।
  • २० शाखा, १ हजारभन्दा बढी कर्मचारी र २५० लगानीकर्तासहित कम्पनीले आगामी १० वर्षमा १०० शाखा विस्तार गर्ने लक्ष्य लिएको छ।
  • नेपालगञ्जमा नयाँ वर्षको अवसरमा कमल खत्री र समिक्षा अधिकारीसहित ‘शुभकामना साँझ—२०८३’ आयोजना गरिनेछ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  होटल पौवा प्रालिले आफ्नो १०औँ वार्षिकोत्सव मनाउनदै छ । १० वर्ष अघि चैत २५ गते नेपाली हस्पिटालिटीको घोषणा गर्दै सेवा आरम्भ गरेको पौवाले १० वर्षे गौरवमय यात्रा पूरा गरेको हो ।

नेपाली स्वाद, नेपाली आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको होटल पौवाले १० औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

स्थापना दिवस, स्वाद उत्सव र नयाँ वर्ष शुभकामना साँझको बारेमा जानकारी दिन होटल पौवा नेपालगञ्जले पत्रकार भेटको आयोजना गरी सो कुराको जानकारी गराएको हो ।

सो भेटघाटमा बोल्दै होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले १९ जनाको लगानीबाट सुरु भएको पौवामा २५० बढी लगानीकर्ता, १ हजार बढी कर्मचारी र २० वटा शाखा विस्तार भएको जानकारी दिए ।

उनले १० वर्षमा १ सय शाखाको लक्ष्यका साथ अगाडी बढेको पौवाले कोभिड, भूकम्प जस्ता दुर्घटनाका कारण लक्ष्य हासिल गर्न नसकेको बताए । आगामी चैत्र २८ गते लगानीकर्ताहरुबीच लगानी सम्मेलन आयोजना गरिएको जनाउँदै अध्यक्ष भण्डारीले आगामी १० वर्षमा १०० शाखाको लक्ष्य पुरा हुने दृढता ब्यक्त गरे ।

उनले पौवामा कार्यरत कर्मचारीलाई नै शेयर सदस्यमा थप्दै पौवाले युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्ने प्रयास गरिरहेको दाबी गरे । ‘कर्मचारीलाई शेयर धनी बनाउँदै लैजाँदा संस्थाप्रति अपनत्व बढ्ने र स्वदेश मै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको पाएका छौं,’ उनले भने, ’विदेश पलायनलाई केही नियन्त्रण गर्न यो अभियान सफल देखिएको छ ।’

अध्यक्ष भण्डारीले पौवा स्थापना अघि संचालनमा रहेको पैचो पसल सञ्चालनको अनुभवका आधारमा नेपालमै उत्पादन भएको होटल रेसीपीबाट पनि होटलमा छुट्टै स्वाद दिन सकिने देखेर पौवाको जन्म भएको जानकारी दिए ।

यही चैत्र २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखाहरूमा विशेष अतिथि सत्कार सहित नेपाली रैथाने स्वाद लिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आनन्द प्रदान गर्ने कार्यक्रम राखिएको होटल पौवा नेपालगञ्जका महाप्रबन्धक गिरीराज पाण्डेले बताए ।

कार्यक्रममा सहभागी हुन देशभरका शाखाहरूबाट ४० हजारभन्दा बढी निमन्त्रणापत्र वितरण गरिएको पाण्डेले बताए । पौवाको उत्कृष्ट आतिथ्यलाई स्वीकार गर्दै आमन्त्रित सबै महानुभावहरू उत्सवमा सहभागी हुन उनले आग्रह गरे ।


रुपन्देहीको सालझण्डीस्थित सानो घरको सात कोठाबाट प्रारम्भ भएको चेन होटलको सेवा भैरहवाबाट होटल पौवाको नामले देशका बिभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ । छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखा मार्फत पौवाले सेवा प्रदान गर्दै आएको छ ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा चैत्र २८ गते भैरहवा शाखामा लगानी सम्मेलनसमेत आयोजना गर्ने जनाएको छ ।

एक दशकसम्म प्राप्त अभूतपूर्व विश्वासका आधारमा शताब्दी चुम्ने लक्ष्य ‘मिसन १००’ लाई सफल बनाउन सो लगानी सम्मेलन आयोजना गरिएको हो । ‘मिसन १००’ संख्यात्मक लक्ष्य मात्र नभएर व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र संस्थागत परिपक्वताको परीक्षण भएको ब्राण्डिङ विभाग प्रमुख भण्डारीले बताए । ‘मिसन १००’अन्तर्गत गुणस्तर, प्रणाली, प्रविधि, मानव संसाधन विकास र नेपाली हस्पिटालिटी ब्राण्डलाई अन्तर्राष्ट्रिय मापदण्डसहितको स्तरमा उक्लिने दिशामा अघि बढ्ने योजना रहेका छ ।

होटल पौवा सञ्जालमा हाल झण्डै १००० भन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको कम्पनीका ब्राण्ड विभागका प्रमुख विष्णु भण्डारीले बताए । कम्पनीले आगामी दिनमा देशका विभिन्न स्थानमा थप शाखा विस्तार गर्दै नेपाली आतिथ्यलाई अझ व्यापक रूपमा प्रवद्र्धन गर्ने योजना अघि बढाएको उनले जनाए ।

नेपालगञ्जमा कमल र समीक्षाको प्रस्तुती रहने

नेपाली कला संस्कृति र परम्परालाई बिबिध कार्यक्रमहरु मार्फत प्रबद्र्धन गर्दै आएको होटल पौवाले नेपाली नयाँ वर्ष २०८३ को स्वागत पनि बिशेष कार्यक्रम सहित गर्ने तयारी गरेको होटल पौवा, नेपालगञ्जका महा प्रबन्धक पाण्डेले जानकारी दिए । नयाँवर्षको स्वागतमा चैत्र ३० गतेको साँझ पौवा नेपालगञ्ज शाखामा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांगितिक कार्यक्रम सहित ‘शुभकामना साँझ—२०८३’आयोजना हुने पाण्डेले बताए ।

चैत्र ३० गते साँझ नेपालगञ्जमा हुने ‘शुभकामना साँझ—२०८३’ मा ख्यातीप्राप्त आधुनिक गायक कमल खत्री र गायीका समिक्षा अधिकारीको प्रस्तुती रहने उनले बताए । समिरमान श्रेष्ठको उदघोषणमा सञ्चालन हुने कार्यक्रममा स्थानीय मोहिनी डान्स ग्रुपको साँगीतिक प्रस्तुती रहनेछ भने गायक प्रिन्स ठकुरीको समेत प्रस्तुती रहने छ ।

होटल पौवाले नेपाली मौलिक परम्परामा आधारित बिभिन्न जातीजनजातीका चाड तथा पर्वहरुमा बिशेष कार्यक्रम गर्दै नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै आएको छ ।

ब्राण्डिङ प्रमुख भण्डारीका अनुसार दशैपछिको पूर्णीमाको सराय नाच, तिहारको देउसी भैला, माघीको खिचडी, महाशिवरात्रीमा शीव भजन जस्ता पर्वहरुमा ग्राहकहरुको उपस्थितीमा पौवाका शाखाहरुमा बिशेष उत्सव हुने गरेको छ ।

चैत्र २५ गते स्थापना दिवसका अवसरमा देशैभरका शाखाहरुले बिभिन्न सामाजिक कार्य गर्ने तय भएको पनि भण्डारीले बताए । भण्डारीका अनुसार नेपालगन्ज शाखाले मानवसेवा आश्रमका आश्रितहरुलाई खाना खुवाउने कार्यक्रम रहेको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा आयोजना हुने ‘स्वाद उत्सव’ कार्यक्रम तथा ‘शुभकामना साँझ—२०८३’मा सहभागी भई नेपाली स्वाद र आतिथ्यको अनुभव तथा मनोरञ्जन लिन सम्पूर्ण ग्राहक तथा सरोकारवालालाई हार्दिक आमन्त्रण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिक्टा सिचाई आयोजनाको डुडुवा शाखा नहर निर्माणमा तीब्रता

२४ चैत्र २०८२, मंगलवार १९:५८
समाचार सारांश Generated Using AI होटल पौवा प्रालिले १०औँ वार्षिकोत्सवको अवसरमा देशभर ‘स्वाद उत्सव’ तथा विविध कार्यक्रम आयोजना गर्ने भएको छ।२० शाखा, १ हजारभन्दा बढी कर्मचारी र २५० लगानीकर्तासहित कम्पनीले आगामी १० वर्षमा १०० शाखा विस्तार गर्ने लक्ष्य लिएको छ।नेपालगञ्जमा नयाँ वर्षको अवसरमा कमल खत्री र समिक्षा अधिकारीसहित ‘शुभकामना साँझ—२०८३’ […]