समाचार सारांश
- नेपालगञ्ज नाकाबाट चालु आर्थिक वर्षको आठ महिनामा करिब ५४ अर्ब रुपैयाँको व्यापार भएकोमा अधिकांश (५२ अर्ब) आयात र करिब २ अर्ब मात्र निर्यात भएको छ।
- गत वर्षको तुलनामा कुल कारोबार करिब ५ प्रतिशतले बढे पनि निर्यात भने २ करोडभन्दा बढीले घटेको छ।
- यस अवधिमा १२ अर्ब ७५ करोडभन्दा बढी राजस्व संकलन भएको र सबैभन्दा बढी व्यापार भारतसँग भएको जनाइएको छ।

नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट चालु आर्थिक वर्षको आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ । जसमा करिव २ अर्व निर्यात हुँदा ५२ अर्व आयात भएको हो ।
नेपालगञ्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को आठ महिनामा यो नाकाबाट ५३ अर्ब ९१ करोड ६३ लाख ९९ हजारको कारोबार भएको हो । जसमा आयात ५१ अर्ब ९८ करोड ३० लाख ७४ हजार र निर्यात १ अर्ब ९३ करोड ३३ लाख २५ हजार रुपियाँको भएको जनाइएको छ ।
भन्सार प्रमुख जनार्दन पौडेलले गत आर्थिक वर्षको तुलनामा चालु आवको आठ महिनामा यो नाकाबाट २ अर्ब ५८ करोड ६९ लाखभन्दा बढी अर्थात पाँच प्रतिशत कारोबार वृद्धि भएको बताए । उनले गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधीमा यो नाकाबाट ४९ अर्ब ३७ करोड ५५ लाख ६६ हजार रुपियाँको आयात र एक अर्ब ९५ करोड ३८ लाख ६३ हजारको निर्यात गरेर ५१ अर्ब ३२ करोड ९४ लाख २९ हजार रुपियाँको कारोबार भएको जानकारी दिए ।
गत आवको तुलनामा यो नाकाबाट कारोबार वृद्धि भए पनि निर्यात भने २ करोडभन्दा बढी घटेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको आठ महिनामा १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रुपियाँ भन्सार राजश्व संकलन भएको छ भने गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधीमा १२ अर्ब ६५ करोड ९६ लाख ३८ हजार रुपियाँ राजश्व संकलन भएको थियो ।
चालु आवमा गत आवको आठ महिनाको राजस्व संकलन भन्दा १० करोड रुपियाँ बढी राजस्व संकलन भएको देखिएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका प्रमुख पौडेलले सबैभन्दा बढी व्यापार छिमेकी देश भारतसँग भएको जनाउँदै गत आठ महिनाको अवधीमा ४८ अर्ब ७८ करोड १७ लाख २७ हजार रुपियाँको कारोबार भएको बताए । उनले पाँच अर्बको कारोबार भने अन्य १९ वटा देशसँग भएको जनाए ।
नेपालगञ्ज भन्सार कार्यालयका अनुसार भारतबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ र खाद्यान्नको आयात हुने गरेको छ भने नेपालबाट सबैभन्दा बढी विभिन्न प्रकारका जडिबुटीको निर्यात हुने गरेको छ ।


