समाचार सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले जनताले निर्वाचनमार्फत व्यक्त गरेको स्वतन्त्रता, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्ने जिम्मेवारी जनप्रतिनिधिमा आएको बताएका छन्।
- उनले लोकतन्त्रमा मत फरक भए पनि राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
- निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड बताउँदै आयोगको सुधार, पारदर्शिता र सफल भूमिकाको प्रशंसा गरेका छन्।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र समृद्धिको आकाङ्क्क्षा पूरा गर्ने ठूलो दायित्व अब जनप्रतिनिधिहरूको काँधमा आएको बताएका छन् ।
निर्वाचन आयोग नेपालले बुधबार राजधानीमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन ।
साझा लक्ष्यमा एउटै मत
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा राजनीतिक विचार र मतहरू फरक हुनु स्वाभाविक भए पनि राष्ट्र निर्माणको महाअभियानमा सबैको ऐक्यबद्धता हुनुपर्नेमा जोड दिए । ‘लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने ।
राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म नै जनताको जीवनस्तर माथि उठाउनु रहेको उल्लेख गर्दै मुलुकलाई समृद्ध बनाउने कार्यमा एकजुट भएर लाग्न सबैमा हार्दिक आह्वान समेत गरे ।

लोकतन्त्रको मेरुदण्ड निर्वाचन
निर्वाचनलाई लोकतन्त्रको मेरुदण्डका रूपमा चित्रण गर्दै राष्ट्रपतिले नेपाली नागरिकको उत्साहपूर्ण सहभागिताले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ तुल्याएको उल्लेख गरे । उनले भने, ‘लोकतन्त्रले प्रदान गरेको प्रतिनिधि चुन्ने अधिकारको प्रयोगमार्फत नागरिकले हाम्रो प्रणालीप्रतिको अटुट विश्वासलाई पुनः पुष्टि गरेका छन् । मतदाताको मतादेशले मुलुकको भविष्यलाई नयाँ दिशा निर्देश गरेको छ ।’
आयोगको भूमिकाको प्रशंसा
राष्ट्रपति पौडेलले यस पटकको निर्वाचनमा आयोगले गरेका सुधारका कार्यहरूको खुलेर प्रशंसा गरे । उनले निर्वाचनमाः मतदाताको सहभागिता वृद्धि, मितव्ययिता र पारदर्शिता कायम,
आचारसंहिताको प्रभावकारी कार्यान्वयन, र ‘हरित निर्वाचन’ को अवधारणा कार्यान्वयनमा आयोग सफल भएको बताए ।
‘यस्ता कार्यले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र वातावरणमैत्री बनाउन मद्दत पुगेको छ, जसको अन्तर्राष्ट्रिय जगतबाट समेत प्रशंसा भएको मैले महसुस गरेको छु,“ उनले थपे ।
सम्बोधनको अन्त्यमा राष्ट्रपति पौडेलले जटिल परिस्थितिमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन अहोरात्र खटिने नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सरोकारवाला निकाय र सम्पूर्ण देशवासीलाई विशेष धन्यवाद व्यक्त गरे ।


