स्थानीय उत्पादन र उद्यमशीलताले समृद्ध प्रदेशको लक्ष्य पूरा हुन्छ

सदरलाइन संवाददाता १२ माघ २०८२, सोमबार १६:३८
 

नेपालगञ्ज :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट नै समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताएका छन् । सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको सातौं सैनामैना महोत्सव(२०८२ को सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गरे ।

उनले स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलताको प्रवर्द्धनमा सबैको साझा ध्यान जानु आवश्यक रहेको बताए । मेला–महोत्सवमा स्थानीय उत्पादनका सामग्रीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले भने, ‘मेला–महोत्सव आयोजना गर्दा स्थानीय उत्पादनले प्राथमिकता नपाउने अवस्था बन्नु हुँदैन । मेला–महोत्सवमा स्थानीय उत्पादनले अनिवार्य रूपमा प्राथमिकता पाउनुपर्छ ।’


मुख्यमन्त्री आचार्यले प्रदेश सरकार उद्योगी व्यवसायीको पक्षमा सधैं उभिने स्पष्ट पारे । उनले भने, ‘प्रदेश सरकार उद्योगी व्यवसायीको रक्षा कवच बनेर उभिएको छ । व्यवसायीको लगानीको सुरक्षाको ग्यारेन्टीका लागि हामी खटिरहेका छौं । लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लिन भएर लागेको छ । उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन जरुरी छ ।’

सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल लगायत वक्ताहरूले नवप्रवर्तनको क्षेत्रमा समेत लगानी बढाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

७४औ विश्व भन्सार दिवस विविध कार्यक्रमका साथ मनाईयो

१२ माघ २०८२, सोमबार १६:३८
नेपालगञ्ज : खुला सिमाना, चोरी पैठारीको समस्याका बाबजुद नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको माघको ११ गतेसम्म १० अर्व ८८ लाख ३० हजार भन्सार राजश्व असुल गर्न सफल भएको छ । जनवरी २६ का दिन ७४ औ विश्व भन्सार दिवस अवसरमा आयोजित कार्यक्रममा सो जनाकारी दिईएको हो । यो वार्षिक […]