
नेपालगञ्ज : बाँके जिल्लामा हात्तीपाइले रोग निवारणका लागि १६औँ पटकको आम औषधि सेवन अभियान सञ्चालन हुने भएको छ । सन् २०२५ मा गरिएको सर्वेक्षण अनुसार बाँके जिल्लाको अवस्था अझै पनि जोखिमपूर्ण देखिएकाले यस वर्ष पुनः अभियान सञ्चालन गर्न लागिएको हो ।
पछिल्लो सर्वेक्षणको नतिजा अनुसार बाँके ‘क’ क्षेत्रमा औसतमा प्रति सय जनामा ६.५ जनाको शरीरमा हात्तीपाइलेको वयस्क परजीवी रहेको पाइएको छ । यस क्षेत्रमा १ प्रतिशत भन्दा बढी व्यक्तिले रोग अरुलाई सार्न सक्ने सम्भावना देखिएकाले अभियानलाई प्रभावकारी बनाउनु पर्ने चुनौती देखिएको छ । जनस्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार बाँके ‘क’ को कुल ३ लाख ५७ हजार ५ सय १३ जनसंख्या र बाँके ‘ख’ को ३ हजार १७२ जनसंख्या मध्ये परीक्षण गरिएकाहरूमा उल्लेख्य मात्रामा ‘आरडीटी पोजेटिभ’ र ‘एमएफ पोजेटिभ’ देखिएको छ ।
यस पटकको अभियानले मुख्यगरी नेपालगञ्ज उप–महानगरपालिकाका १ लाख ६९ हजार ३ सय ३९ जना, डुडुवा गाउँपालिकाका ४३ हजार ९ सय ७५ जना र नरैनापुर गाउँपालिकाका ४३ हजार ८ सय ९९ जना गरी कुल ३ लाख ५७ हजार ५ सय १३ जनालाई औषधि खुवाउने लक्ष्य राखेको छ । विगतका वर्षहरूमा औषधि नखानुका कारणहरूलाई हेर्दा ३३.२८ प्रतिशत मानिसले औषधिको प्रतिअसर हुने डरले र ३२.५३ प्रतिशतले जनचेतनाको कमीले औषधि नखाएको पाइएको छ । यस्तै दीर्घ रोग, अनुपस्थिति र गलत धारणाका कारण पनि धेरैले औषधि सेवन नगरेको देखिन्छ । पेसागत आधारमा हेर्दा ५६ प्रतिशत बिजनेस म्यान, ३८ प्रतिशत विद्यार्थी, ४२ प्रतिशत कर्मचारी, ६० प्रतिशत वृद्धवृद्धा र २७ प्रतिशत स्वास्थ्यकर्मीले समेत औषधि खान छुटाएको तथ्याङ्कले देखाएको छ ।

अभियानलाई सफल बनाउन स्वास्थ्य क्षेत्रले औषधि सेवनका मापदण्डबारे प्रष्ट पारेको छ । ग्यास्ट्राइटिस, थाइराइड, रक्तचाप र चिनी रोग जस्ता साधारण समस्या भएका तर दैनिक क्रियाकलाप गर्न सक्ने व्यक्तिहरूले यो औषधि खान मिल्ने जानकारी दिइएको छ । यस्तै, पहिले औषधि खान छुटेका, रोग निको भइसकेका र सुत्केरी भएको ७ दिन पुगेका आमाहरूले पनि अनिवार्य औषधि सेवन गर्नुपर्नेछ । तर, दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती महिला, ७ दिन सम्मका सुत्केरी र ओछ्यानबाट उठ्न नसक्ने गरी सिकिस्त बिरामी भएका व्यक्तिहरूले यो औषधि सेवन गर्नु हुँदैन । यसका साथै अस्पताल भर्ना भएका, डायलाइसिस गराइरहेका र छारे रोग वा न्यूरोसिस्टिसर्कोसिसका बिरामीहरूलाई पनि औषधि सेवन नगराउन सुझाव दिइएको छ ।


