
कोहलपुर : किशोर–किशोरीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले कोहलपुरमा एक दिने अभिप्रेरणा कार्यक्रम सम्पन्न भएको छ । सञ्चारिका समूह नेपाल, बाँकेको आयोजनामा सम्पन्न कार्यक्रममा अध्ययनप्रति रुचि अभिवृद्धि, लक्ष्य निर्धारण, समय व्यवस्थापन, पढाई व्यवस्थापन, आत्मअनुशासन तथा जीवनमा सकारात्मक सोचको महत्वबारे छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै वक्ता कोष खड्काले किशोर अवस्थालाई जीवनको निर्णायक समयको रूपमा व्याख्या गर्दै यस उमेरमा सही सोच र अनुशासन विकास गर्न सके जीवनको दिशा आफैं सही बाटोतर्फ मोडिने कुरा बताए । अर्का वक्ता प्रमोद सुवेदीले अध्ययन शैलि तथा परिक्षा तयारीबारे प्रशिक्षण दिएका थिए ।

कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कल्पना अधिकारी शर्माले किशोर–किशोरी लक्षित कार्यक्रमको आवश्यकता अनुसार नै उक्त कार्यक्रमको आयोजना गरिएको बताईन् । उनले भनिन्, –‘आजका किशोर–किशोरी नै भोलिका जिम्मेवार नागरिक हुन् । उनीहरूलाई सही मार्गदर्शन दिन स्थानीय तहले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।’ आगामी दिनमा पनि किशोर–किशोरी लक्षित सशक्तीकरण तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई थियो ।


किशोर–किशोरीहरूलाई आत्मविश्वासी, जिम्मेवार र सकारात्मक सोच भएका नागरिकका रूपमा विकास गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको सञ्चारिका समूह नेपाल, बाँकेका अध्यक्ष पवित्रा परियारले जानकारी दिईन् । यस्ता कार्यक्रमले किशोरकिशोरीहरुलाई सही दिशा देखाउने विश्वास आयोजकले लिएको छ ।
कार्यक्रममा सहभागी किशोर–किशोरीहरूले यस्ता प्रेरणामूलक कार्यक्रमले आत्मबल बढाउनुका साथै अध्ययन र जीवनप्रतिको दृष्टिकोण सकारात्मक बनेको प्रतिक्रिया दिएका छन् । यहाँ पाएको प्रेरणाले अब लक्ष्यप्रति अझै केन्द्रित भएर अघि बढ्ने हौसला मिलेको उनिहरुको भनाई थियो ।
कोहलपुर नगरपालिका वडा नं. ११ को आर्थिक सहयोगमा सन्चालन गरिएको कार्यक्रममा ६० जना किशार किशोरीको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण भने महासचिव आशा परियारले गरेकी थिईन् ।



