
नेपालगञ्ज : नेपाल पर्यटन बोर्डको टोलीले बाँकेमा क्रियाशिल पत्रकारहरूलाई लिएर बाँके राष्ट्रिय निकुञ्जमा पर्यटयिकय संभावनाको खोजीको लागि जंगल सफारी गरिएको छ ।
निकुञ्जको पर्यटन प्रवद्र्धनलाई मुख्य लक्ष्य बनाएर पर्यटन बोर्डको आयोजनामा तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेको संयोजनमा सफारी आयोजना गरिएको हो ।
नाट्टा बाँकेका महासचिव भागिराम ओलीका अनुसार टोली ढकेरी हुँदै चुरे क्षेत्रसम्म पुगेको थियो । टोलीमा पर्यटन बोर्डका अधिकारी, भारतको लखनउ र बहराइचबाट आएका सञ्चारकर्मी तथा स्थानीय गरी करिब डेढ दर्जन पत्रकार सहभागी थिए ।
सफारीको क्रममा पर्यटन बोर्डका सिनियर म्यानेजर सुर्य थपलियाले बाँके राष्ट्रिय निकुञ्ज नेपालगञ्जसँगै जोडिएको आकर्षक पर्यटन केन्द्रको रूपमा स्थापित भइसकेको बताए। उनले भने, ‘नेपालगञ्ज व्यापारिक र पर्यटनका हिसाबले हब हो । कर्णाली तथा लुम्बिनी प्रदेशको सीमामा रहेको बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन विकासको अपार सम्भावना छ ।’

उनका अनुसार पाटेबाघ निकुञ्जको मुख्य आकर्षण हो भने चुरे पहाड नजिक भएकोले यसको इकोसिस्टम तराईका अन्य निकुञ्जभन्दा फरक छ, जसको प्रवद्र्धन आवश्यक छ ।
निकुञ्ज वरपरका होमस्टे र स्थानीय समुदायले पर्यटन गतिविधिबाट आयआर्जन बढाउन थालेका छन् । हालै बढ्दो पर्यटकीय चहलपहलले पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।
निकुञ्ज कार्यालयका अनुसार वन्यजन्तुलाई अनुकूल वातावरण बनाउन घाँसेमैदान, कृत्रिम ताल, वनपथ र मचानसहितका पूर्वाधार निर्माण गरिएको छ । करिब एक दर्जन मचान, दुई सय किलोमिटरभन्दा बढी वनपथ, २५ सोलार जडित ताल, ४५० हेक्टर घाँसेमैदान तथा ४ ठूला जलाशय निर्माण गरिसकिएको छ । पूर्वाधार निर्माणसँगै पर्यटन व्यवसायीले पनि लगानी थपिरहेका छन् ।
नाट्टा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देलका अनुसार नेपालगञ्जदेखि २०–२२ किलोमिटर दूरीमा रहेको बाँके राष्ट्रिय निकुञ्ज समिपकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यसको सम्भावना निकै विशाल छ । ‘निकुञ्जभित्रका बाटाहरू खुलिसकेकाले सहज रूपमा सफारी गर्न सकिन्छ। नेपाल–भारत सीमा खुला भएकाले भारतीय पर्यटक भित्र्याउने सम्भावना पनि उत्तिकै उच्च छ,’ उनले भने ।ं


