
नेपालगञ्ज : हिन्दू धर्मावलम्बीहरुको बडादशैको नवमीको दिनमा पश्चिम नेपालको प्रशिद्ध शक्तिपिठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा यक्ष र मोक्षप्राप्तीको आशामा फलामको त्रिशुलले जिब्रो छेड्ने परम्परा छ ।
यो परम्परा अनुसार बडा दशैको नवमीको दिन र चैते दसैको नवमीको दिनमा ठूलो संख्यामा जिब्रो छेडेर वाक्यकी देवी बागेश्वरीमाताको दर्शन गर्ने चलन छ ।
परापूर्वकालदेखि चलेको यस परम्परालाई धान्नको लागि नवरात्राको ब्रतबसेर नवमीको दिनमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गरेको बताउछन नेपालगञ्ज १८ कारकाँदोका रामसुहावन यादव ।
उनले नवमीको दिनभरी आफ्नो शरिरमा देवी प्रवेश गरेपछि जिब्रो छेडेर माताको पूजा गर्ने गरेको बताए ।
नेपालगञ्ज २१ का नानबाबु बडहीले मेरो यो भाकल पुराहोस भनेर भाकल गरेकाहरुको भाकल पुरा भएपछि र धामी झाँक्रिको काम गर्नेहरुले हरेक वर्षको बडा दशैको नवमी र चैते दशैको नवमीको दिनमा जिब्रो छेड्ने परम्परा रहि आएको अनुसार आफुले पनि जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्ने गरेको बताए ।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनहरुले निराहर ब्रत बसेर माता बागेश्वरीलाई खुशी बनाउन आफ्नै रगत चढाउने वा प्रष्ट बोली नफुटेको वालकको बोली फुटाउने उदेश्यले जिब्रो छेड्ेर देवीको पूजाआजा गर्ने चलन रहे अनुसार आफुले पनि जिब्रो छेडेर दर्शन गरेको बताउछन नेपालगञ्ज २१ कै बुद्धीलाल गुप्ता ।
नवरात्रको ब्रत बसेका ब्रतालु पुरुषहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेडेर पूजा गर्ने परम्परा रहेको छ । पुजा गरिसकेपछि पानको पात चबाएर खाने गर्दा घाउ नदेखिने नदुख्ने उनीहरुको भनाई छ ।
हरेक वर्ष करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेडेर दर्शन गरेका छन् । नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षाहुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परा पूर्वकालदेखि नै चल्दै आएको मान्यता छ ।



