दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि

सदरलाइन संवाददाता ६ असार २०८२, शुक्रबार १८:१२
 

नेपालगञ्ज : दैलेखको भैरवी गाउँपालिकास्थित जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको पुष्टि भएको छ । यो पुस्ट्याईले मुलुकमा वार्षिक ५५ अर्ब रुपियाँ बराबरको पाँच लाख मेट्रिक टनभन्दा बढी खाना पकाउने एलपी ग्यास आयात भइरहेको बेला त्यसलाई प्रतिस्थापन गर्न सक्ने गरी स्वदेशमै प्राकृतिक ग्याँस फेला परेपटि खुशी थपेको छ ।

चाइना जिओलोजिकल सर्भेको अध्ययनले दैलेखको भैरवी गाउँपालिकास्थित जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको देखाएको हो । सन् २०१९ देखि अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक अध्ययनले नेपाललाई ५० देखि ६० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको देखाएको हो । प्राकृतिक ग्यासको उत्पादनमा गई प्रयोगमा आउन थालेपछि एलपी ग्यासको आयातलाई विस्थापन गर्न सक्ने देखिएको छ ।

अध्ययनको प्रारम्भिक प्रतिवेदनले एक वर्षभित्रमा उत्पादन परीक्षणमा जान सक्ने देखाएको छ । चीन सरकारको अनुदानमा दुई अर्ब १७ करोड रुपियाँ लागतमा छ वर्ष लगाएर सो अध्ययन गरिएको थियो । खानी तथा भूगर्भ विभागमार्फत चिनियाँ अध्ययन टोलीले प्राकृतिक ग्यास रहेको फेला परेको जानकारी हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई गराएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अध्ययनको विस्तृत प्रतिवेदन आइसकेपछि एक वर्षभित्रमा उत्पादन र परीक्षणको काम सुरु गरिने जानकारी दिए । ‘दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास भएको पुष्टि भएको छ । उत्पादन र प्रशोधनका लागि थप लगानी गर्नुपर्ने छ । यसका लागि अर्थमन्त्रालयमार्फत चिनियाँ सरकारलाई अनुरोध गर्छौं’ मन्त्री भण्डारीले भने ।

विस्तृत प्रतिवेदन आइसकेपछिको ७५ दिनमा ग्यासको प्रारम्भिक उत्पादनको काम सुरु गरिने उनले जानकारी दिए । प्रचुर मात्रामा उच्च गुणस्तरको प्राकृतिक ग्यास देखिएकाले जति सक्दो उत्पादन तथा प्रशोधनको प्रक्रिया अगाडि बढाउनेसमेत मन्त्री भण्डारीले बताए । यसले ठूलो परिणामको ग्यास आयातलाई समेत प्रतिस्थापन गर्न सक्ने अनुमान गरिएको मन्त्री भण्डारीको भनाइ छ ।

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता दिनेशकुमार नापितले प्रारम्भिक अध्ययनले वातावरणमैत्री ठुलो मात्रामा प्राकृतिक ग्यास फेला परेको जानकारी दिए । ८५ अर्ब अमेरिकी डलर बराबरको प्राकृतिक ग्यास रहेको अनुमान गरिएको उनले जानकारी दिए । संसारभर यसको प्रयोग भइरहेको छ ।

यो नेपालका लागि नयाँ भए पनि एलपिजी ग्यासको तुलनामा वातावरणमैत्री रहेको उनको भनाइ छ । पेट्रोलियम लिक्विड तेल नभई ठूलो मात्रामा प्राकृतिक ग्यास भेटिएको र त्यसमा करिब ९० प्रतिशतभन्दा बढी मिथेन ग्यास रहेको उनको भनाइ छ ।


यो ग्यास विशेष गरी खाना पकाउन, उद्योगहरू सञ्चालन गर्न, बिजुली बाल्न र अटोमोबाइल सञ्चालन गर्नका लागि उपयुक्त हुने बताइएको छ । प्रारम्भिक अध्ययन प्राप्त भएसँगै परीक्षणका लागि विभागले प्रक्रिया अघि बढाइरहेको जनाएको छ । चीनले अध्ययनसँगै ग्यासको परीक्षण पनि आफैँले गर्नका लागि प्रस्तावसमेत गरेको मन्त्रालयले जनाएको छ ।

प्राकृतिक ग्यास अन्वेषण गर्नका लागि हालसम्म चार हजार १३ मिटर ड्रिल गरिएको र जहाँ ९० प्रतिशतभन्दा बढी मिथेन ग्यास रहेको पाइएको अध्ययनले देखाएको छ । यसको व्यावसायिक उत्पादनका लागि हाल सञ्चालनमा भइरहेको कम्पनी, नयाँ कम्पनी खोल्नुपर्ने र निजी क्षेत्रलाई उत्पादन गर्न दिनुपर्ने हुन्छ ।

सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गरिदिने समझदारी भएको थियो । यस्तै सन् २०१७ अगस्टमा चीनसँग पेट्रोलियम पदार्थ अध्ययनका लागि सहयोग गर्ने सम्झौता भएको थियो ।

सन् २०१९ फेब्रुअरीमा कार्यान्वयनका लागि खानी तथा भूगर्भ विभाग र चाइना फिजियोलोजी सर्भेसँग सम्झौता भएको थियो । सर्भेको प्रारम्भिक अध्ययनको प्रतिवेदन बुझाउने अवधि सन् २०२५ को डिसेम्बरसम्म रहेको छ ।

यसैबिच थप तीन स्थानमा पनि ठुलो मात्रामा प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ । दाङ, पाल्पा र सुनसरीमा करिब ४३० अर्ब घनमिटर ग्यास रहेको विभागको अनुमान छ । यसको अध्ययन गर्न भने बाँकी छ ।

यसरी भयो अन्वेषण

चीनको सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि ड्रिलिङका लागि चार हजार १३ मिटर गहिराइसम्म खनेको थियो । चिनियाँ जियोलोजिकल सर्भे कम्पनीबिच उत्खनन गर्न दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगको सम्झौता भएको थियो ।

चाइना जिओलोजिकल सर्वे कम्पनीले सन् २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ । सङ्घीय सरकारले पेट्रोलियम पदार्थको अन्वेषणको काम अघि बढाउन ४५ रोपनी जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

६ असार २०८२, शुक्रबार १८:१२
नेपालगञ्ज: लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन अन्तर्गत भोलि शनिबारका लागि तय गरिएको चौधौँ बैठक स्थगित गरिएको छ । प्रदेश सरकारको अनुरोध तथा कार्य व्यवस्था परामर्श समितिको आज बसेको बैठकको निर्णयअनुसार बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले एक सूचना जारी गर्दै बैठक स्थगित गरिएको जानकारी दिएका […]