
नेपालगञ्ज : कुनै बेला एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सबभन्दा पुरानो सवारी साधनको रुपमा रहेको ताङ्गा घोडा सवारी पेशा विस्थापित हुँदै गएपछि यस पेशामा लागेकाहरु मारमा परेका छन् ।
पहिला पहिला बाँकेको सदरमुकाम नेपालगञ्जबाट भारतीय सीमावर्ती बजार रुपईडिहालगायत ग्रामिण भेगमा आवतजावत गर्न एक मात्र प्रयोग हुने ताङ्गा वर्तमान समयमा टेम्पु र ईरिक्सा आएपछि हराउँदै गएको हो । यात्रुहरु टेम्पु, ईरिक्साबाट छिटो छरितो तथा न्यून भाडामा आवतजावत गर्न रोज्ने भएकाले ताङाको प्रयोग शून्य भएको छ ।
दैनिकरुपमा ताङ्गा चलाएर आफनो घरपरिवार चलाउने व्यवसायीहरु व्यवसाय बन्द भएको तथा यात्रुको रुचि पनि घट्दै गएपछि आफूसहित कैयौँ व्यवसायी अन्य पेशामा लागेको ताङा व्यवसायी रहिम जसगढले बताए । लामो समयदेखि आफूले ताङा चलाएर घरपरिवार चलाउँदै आइरहेकोमा अहिले जिप, बोलेरो, स्कोरपियो तथा टेम्पु लगायत अन्य सवारीसाधन आएपछि ताङाकोे महत्व घटेपछि बाध्य भएर आफूले सिजनअनुसार तरकारीको ब्यवसाय गर्न लागेको उनले बताए ।

परापूर्वकालदेखि नै तराइका विभिन्न स्थानमा सञ्चालन हुँदै आएको ताङा गाउंँदेखि नगरको शोभाको रुपमा रहँदै आएकोमा गत केहि समययता विभिन्न खाले मोटरगाडी चल्न थालेपछि यसको उपयोगिता निकै कम भएको अर्का रहमान अलीले बताए । उनले ताङाको प्रयोग घटेपछि आफूले परापूर्वकालको पेशा छाडी कुखुराको मासु विक्री वितरण गरेर घर परिवार चलाउने गरेको बताए ।
बाटोघाटोको समुचित व्यवस्था नभएको, बाटो भएपनि जिर्ण रहेको ठाउँमा सजिलै तथा मोटर नपुग्ने स्थानहरुमा ताङा सजिलै पुग्ने हुँदा यात्रुहरु आरामदायी यात्राका लागि ताङा रोज्ने गरेका थिए तर अहिले सो ठाउँमा टेम्पु सजिलै जाने गरेका कारण ताङा व्यवसायीलाई अन्य पेशामा लाग्नुपरेको ताङा व्यवसायीहरु बताउँछन् ।
पहिलापहिला ताङ्गा व्यवसायमा संलग्नहरु प्रत्येक दिन बिहान चार पाँच बजे यात्रुहरु लिई टकटक घोडा कुदाउँदै करिब ४ किमि. यात्रा पार गरेर भारतीय सीमावर्ती बजार रुपईडिहा पुग्थे । रुपईडिहा पुगेसकेपछि दिनभरि यात्रुहरुलाई रेल्वेस्टेशन, बसपार्क तथा बिभिन्न स्थानसम्म पुर्याउने उनको दिनचर्याको विषय भइसकेको थियो । तर अहिले त्यो काम टेम्पु र ईरिक्साले छिटोछरितो सीमावर्ती नेपाली क्षेत्र जमुनाहासम्म पुर्याउने गर्ने गरेका कारण अब ताङा इतिहासमा मात्र सिमित हुदै गएको नेपालगञ्जको इतिहासका जानकार विष्णुलाल कुमालले बताए ।


