नेपालगञ्ज : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवालले अख्तियार कसैलाई तर्साउन, गलाउनका लागि नभई सुशासन प्रबद्र्धनका लागि खडा भएको बताएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
.उनले सुशासन युक्त सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन समेत दिदै समाजलाई भ्रष्टचार मुक्त गर्नको लागि एकल प्रयासले मात्र नहुने तर, सबैको सहकार्य भएमा असंभव भन्ने केही नहुने कुरा स्पष्ट पारे ।सो अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहसचिव उमाकान्त पाण्डेले भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक प्रयास र सहकार्य आवश्यक हुने बताए ।
उनले नेपालमा भ्रष्टाचारको अवस्था, न्यूनीकरणका लागि भएका प्रयास, उजुरी, छानबिन र मुद्दाका विषयमा जानकारी दिदै उहाँले अख्तियारको उद्देश्य भ्रष्टाचार निवारण प्रमुख उद्देश्य रहेको बताए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेशबहादुर अधिकारीले आफ्नो क्षेत्राधिकार भित्रका ४ जिल्ला बाँके, बर्दिया, दाङ्ग र रोल्पा मध्ये सबैभन्दा बढी मुद्दा बाँके कै रहेको, दोस्रोमा दाङ्ग, बर्दिया र रोल्पाको रहेको बताए । बाँकेमा पनि सबैभन्दा बढी उजुरी नेपालगञ्ज उपमहानगरको रहेको जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगञ्ज नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नरैनापुर गाउँपालिका प्रमुख इस्तियाक अहमद शाह, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।