प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने गृहमन्त्री लेखकको भनाई

सदरलाइन संवाददाता २९ आश्विन २०८१, मंगलवार १८:३८
 

नेपालगञ्ज : गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने सरकारको तयारी रहेको बताएका छन् ।

६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले आफू प्रहरी सङ्गठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए ।

‘गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समाविष्ट गरिएको छ’– उनले भने–‘गृह मन्त्रालयले यसलाई छिटोभन्दा छिटो प्रतिनिधिसभा समक्ष पेस गर्ने लक्ष्य राखेको छ । प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरेपछि नेपाल प्रहरीको वृहत्तर हित र वर्षौँदेखिका हाम्रा अपेक्षा पूरा हुने विश्वास लिएको छु ।’


कार्यक्रममा गृहमन्त्री  लेखकले कर्तव्यपालनका क्रममा मृत्युवरण गरेका र  घाइते  प्रहरी  कर्मचारीको  योगदानको  उच्च मूल्याङ्कन गरिने बताए । ‘वर्तमान सरकार गठन भए लगत्तै सङ्क्रमणकालीन न्यायसम्बन्धी  कानुनलाई  पूर्णता दिइएको छ । सत्य निरुपण तथा  मेलमिलाप र बेपत्ता भएका व्यक्तिको छानबिनसम्बन्धी कानुन बनेको छ’– उनले भने–‘यसले द्वन्द्वको बेलामा मुत्युवरण गर्ने सुरक्षा निकायका व्यक्तिको परिवारलाई पनि पीडित सरह परिपूरण दिने व्यवस्था गरिएको छ । द्वन्द्वका बेला घाइते तथा अपाङ्ग हुनुभएका सुरक्षा निकायका व्यक्तिलाई पीडित सरह व्यवहार गरिने व्यवस्था गरिएको छ ।’

सुरक्षा निकायको कमी कमजोरीले सरकारले आलोचना व्यहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्न गृहमन्त्री लेखकले निर्देशन दिए । राज्यको नागरिकसँग सम्पर्क सुत्र नै प्रहरी भएकाले नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिका लागि आफ्नो भूमिका सदैव सहयोगी रहने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाए ।

मुलुकभर महिला तथा बालबालिकामाथि हुने हिंसा, कसूरजन्य कार्य, भेद्भाव छुवाछुतलगायतका आपराधिक कार्यमा संलग्नलाई शून्य सहनशीलताको नीति लिएर कानुनको दायरामा ल्याउन गृहमन्त्री लेखकले प्रहरीलाई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पनि मनाईयो ६९औ प्रहरी दिवस

२९ आश्विन २०८१, मंगलवार १८:३८
नेपालगञ्ज : समाजलाई अपराध मुक्त बनाउन अहोरात्र खटिने प्रहरीसंग नागरिकले हातेमालो गर्न आवश्यक रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताएका छन् । उनले ६९ औ प्रहरी दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । उनले भने–‘ सिमित श्रोत र साधनको […]