नेपालगञ्ज : बाँकेमा दादुरा–रुबेला खोप अभियानका क्रममा यहाँका बालवालिकाले धमाधम खोप लगाइरहेका छन । सो खोप दोस्रो दिनसम्म ७६ हजार बढी बालबालिकाहरुले खोप लगाएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।
दुई दिनमा ७६ हजार ७४३ बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले जानकारी दिए । खोप अभियानको दोस्रो दिन आज ९ महिनादेखि १५ वर्ष उमेर समूहका ४२ हजार ५०५ जना तथा पहिलो दिन ३४ हजार २३८ बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएको बताइएको छ ।
कोहलपुरमा दुई दिनमा २० हजार ९९४ जना बालबालिकाले खोप लगाएका छन् । कोहलपुर नगरपालिकामा २५ हजार ७१३ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा ४२ हजार २७० जना मध्ये १३ हजार ३१७ जनालाई खोप लगाइएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिकामा ८ हजार ३०५ जनाले खोप लगाएका छन् । त्यहाँ १८ हजार ६६१ जनालाई खोप लगाउने लक्ष्य छ । यसैगरी बैजनाथ गाउँपालिकामा १९ हजार २२३ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएकोमा दोस्रो दिनसम्म ७ हजार ७८१ जनाले खोप लगाएका छन् ।
जानकी गाउँपालिकामा १८ हजार १४९ मध्ये ४ हजार ४ जना, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ जनामध्ये ६ हजार ७७१ जना र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जनामध्ये ३ हजार ६१६ जना बालबालिकाले खोप लगाएका छन् ।
बाँकेमा कूल १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । यो अभियान ३० गतेसम्म जारी रहनेछ ।