सरकारले देश र जनताको हितको पक्षमा कतै कुरा राख्न सक्दैन : डा. राजन भट्टराई

सदरलाइन संवाददाता १३ फाल्गुन २०८०, आईतवार १३:१६
 

काठमाडौं : नेकपा एमाले विदेश विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले वर्तमान गठबन्धन सरकारले राष्ट्रिय हितको पक्षमा काम गर्न नसक्ने बतएका छन ।

नेकपा एमाले रामेछाप स्कुल विभागले आइतबार मन्थलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्नु त परको कुरा बोल्न पनि नसक्ने स्पष्ट पारे । ’यो सरकारले देश र जनताको हितको पक्षमा कतै कुरै राख्न सक्दैन’, उनले भने ।

गठबन्धन सरकारले नेपालको आधारभूत विदेश नीति माथि नै प्रश्न उठ्ने गरी काम भएको बताउदै युक्रेन युद्धको सवालमा सरकारले अनावश्यक रूपमा एउटा मुलुकको पक्ष लिएर पञ्चशीलताको सिद्धान्त विरतिको काम गरेको भट्टराईले टिप्पणी गरे । ‘यो असन्तुलित परराष्ट्र नीति हो, यो हिसाबले नेपाल जान सक्दैन, हामी एकातिरको सैन्य गठबन्धनमा लाग्यौँ भने नेपालको सुरक्षा खतरामा पर्छ’, उनले भने ।

नेपालमा विदेशी हस्तक्षेप बढेको भन्दै नेता भट्टराईले यो देश र जनताको लागि चिन्ताको विषय भएको बताए । विदेशी हस्तक्षेप विरुद्धको विषयमा जनतालाई सचेत पार्न आवश्यक रहेको उनको जोड थियो । ‘जबसम्म जनता सचेत र संगठित हुँदैनन् त्यो बेलासम्म वैदेशिक हस्तक्षेप रोक्न सकिँदैन’, उनले भने ।

नेपालले संविधान बनाउन लाग्दा भारतले त्यसलाई रोक्ने प्रयत्न गरेको स्मरण गराउँदै उनले त्यसपछि पनि नेपाललाई समृद्धिको बाटोमा अघि बढाइ रहेको बेला एमाले सरकारलाई फाल्न देश भित्र कै शक्ति प्रयोग गरेर विदेशी शक्ति लागेको भट्टराईले बताए । भारत लगायत विदेशी शक्तिले आफ्नो अनुकूलको काम एमाले नेतृत्वको सरकारबाट नहुने देखेपछि त्यो खेल खेलेका भट्टराईले टिप्पणी गरे ।


भारतले ठाउँ ठाउँमा नेपाली भूमि मिचेको बताउँदै भट्टराईले भारतले सुगौली सन्धि मान्नु पर्ने बताए । ‘सुगौली सन्धि अनुसार भारतले कालापानीको सेना हटाउनुपर्छ, लिम्पियाधुरा, कालापानी र लिपुलेकको भूभाग भारतले नेपाललाई फिर्ता गर्नुपर्छ, त्यस्तै सुस्ता लगायतका क्षेत्रमा नेपालको मिचिएको सीमा छाडिदिनुपर्छ’, उनले भने ।

उनले भारतसँग भएको सन् १९५० को विभेदकारी सन्धिको पनि पुनरावलोकन हुनु पर्ने बताउदै भारत यस विषयमा छलफल गर्न पनि तयार नभएको भन्दै भारतको आलोचना गरे ।

भारत नेपालसँगको सीमा नियन्त्रण गर्ने कुरामा समेत तयार नरहेको, सीमा नियन्त्रणमा एकरुपमा ल्याउन नेपालले प्रयास गर्दा पनि भारत त्यसमा तयार नरहेको उनले स्पष्ट पारे । भारतसँगको कृषि उपज, जलस्रोत, व्यापार, पारवहन लगायतका असमान विषयमा छलफल गर्नुपर्छ भन्दा एमाले माथि आक्रमण भएको भट्टराईले बताए ।

एमाले सरकारमा हुँदा यी विषय उठाएको कारण भारतको वक्रदृष्टि परेको भट्टराईले बताउदै एमाले सरकारबाट हटेपछि यी सबै कुरा ओझेलमा परेका टिप्पणी गरे । प्रधानमन्त्री प्रचण्डले भारतसँग यी कुरा उठायो भने माहौल बिग्रन्छ भनेर आत्मसमर्पण गरेको भट्टराईको आरोप थियो ।

भट्टराईले यी सबै कुरा जनतालाई बुझाउन आवश्यक रहेको बताउदै यी कुरा जनतालाई बुझाउन सके जनता एमालेको पक्षमा हुने र एमालेलाई कसैले पराजित गर्न नसक्ने प्रष्ट पार्दै भने–‘देशी विदेशी शक्तिबाट जुन खेल भइरहेको छ, त्यो जनतालाई बुझाउने कुरा आजको प्रमुख आवश्यकता हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज कन्या माविबाट दादुरा–रुबेला खोप अभियान शुरु

१३ फाल्गुन २०८०, आईतवार १३:१६
नेपालगञ्ज : बाँकेमा पनि दादुरा–रुबेला खोप अभियान शुरु भएको छ । फाल्गुन ३० गतेसम्म चल्ने अभियानको नेपालगन्जस्थित कन्या माध्यमिक विद्यालयमा आइतवार एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले अभियानको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी […]