बर्दिया : फुड प्वाइजनका कारण बर्दियामा एकै गाउँका १ सय २० जना भन्दा बढी विरामी परेका छन् । उनीहरुमध्ये ५१ जनाको बर्दिया अस्पताल गुलरियामा उपचार भईरहेको छ भने बाँकीको मुधवन नगरपालिकामा रहेको नगर अस्पतालमा उपचार भईरहेको छ ।
मधुवन नगरपालिका वडा नं. १ गर्भु गाउँका ४१ जना फागुन ४ गते दाङको चखौरा भन्ने स्थानमा घुमघामका लागि गएका थिए । त्यहाँबाट फर्केपछि एक्कासी तिनीहरुलाई पेट दुख्ने, झाडा पखाला लाग्न शुरु भएको स्थानीय बालकुमार चोधरीले बताए ।
सोमवार विहानसम्म करीब ५० जना भन्दा बढी उपचाररत रहेको र स्वास्थ्यमा क्रमिक सुधार भईरहेको छ भने केहीको अवस्था अझै खतरामुक्त हुन नसकेको बर्दिया अस्पतालका मेसु सुभाष पाण्डेयले जानकारी दिए ।
विरामी पर्ने ३८ जना महिला, १३ जना पुरुष र ५ वर्ष मुनिका ५ जना बालबालिकाहरुलाई सामाजिक सेवा डिजास्टर सेक्टर मार्फत उपचार भईरहेको पाण्डेयले बताए ।
मधुवन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष हर्कबहादुर बस्नेतका अनुसार अहिलेसम्म १ सय २० जना विरामीको उपचार भईरहेको छ ।