नेपालगञ्ज–जनकपुर हवाई उडानका लागि पहल शुरु

सदरलाइन संवाददाता २७ माघ २०८०, शनिबार १५:३३
 

नेपालगञ्ज : पश्चिम नेपालबाट पूर्वको जनकपुरमा रहेको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न जाने यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगञ्ज–जनकपुर हवाई उडानको पहल शुरु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा यस क्षेत्रका पर्यटन व्यवसायी र अन्य सरोकारवालाको उपस्थितिमा बसेको बैठकले नेपालगञ्ज–जनकपुर उडानका लागि नेपालका हवाई सेवाप्रदायक कम्पनीलाई अनुरोध गर्ने निर्णय गरेको पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताए ।

उनले नेपालगञ्ज–जनकपुर हवाई उडान सुरु गराउन सकिएमा नेपालगन्जमा भारतीय धार्मिक पर्यटकसँगै पूर्वी नेपालका धार्मिक पर्यटकको पनि आवागमन ठुलो सङ्ख्यामा हुने हुँदा यस क्षेत्रको आर्थिक विकासमा टेवा मिल्ने बताए ।

उनले धार्मिक पर्यटनको सम्भावना सबैभन्दा बढी रहेकाले नेपालगञ्ज–जनकपुर उडानका लागि ठोस पहल गर्ने निर्णय बैठकमा भएको जानकारी दिए ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्ज–जनकपुर हवाई उडानका बारेमा धेरै पहिलेदेखिनै योजना बनाइरहेकोमा अहिले अयोध्यामा राम मन्दिर निर्माण भएसँगै यसको आवश्यकता अति नै बढेको बताए ।


बैठकमा सहभागी हुनुभएका अध्यक्ष सिग्देलले यो उडानले पश्चिम तराईलाई पूर्वी तराईसँग जोड्नुका साथै भारतीय पर्यटकलाई नेपाल भित्र्याउन सहज हुने बताए ।

उनले भने, ‘‘यो उडानले जनकपुर, नेपालगञ्ज र भारतको अयोध्या जोड्न ठुलो मद्दत गर्नेछ, यसले धार्मिक पर्यटनका लागि नयाँ गन्तव्य निर्माण गरेर अगाडि बढ्ने देखिन्छ ।’’

सोही प्रकारले उक्त बैठकले नेपालगञ्जमा आयोजना गरिने वेष्टर्न ट्राभल मार्टका बारेमा पनि छलफल गरेको पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक श्रेष्ठले बताए ।

बैठकले ट्राभल मार्टकालागि पर्यटन बोर्डले विनियोजन गरेको रकमलाई नेपालगञ्ज उपमहानगरपालिकाको कोषमा जम्मा गर्न अनुरोध गर्ने निर्णय गरेको संयोजक श्रेष्ठले बताए ।

आगामी चैतमा ट्राभल मार्ट आयोजना गर्ने तयारी भइरहेको जानकारी दिँदै त्यसका लागि बोर्डले विनियोजन गरेको बजेट नेपालगञ्ज उपमहानगरपालिकाको कोषमा जम्मा गर्न अनुरोध गर्ने निर्णय गरेर सो को तयारी पनि अगाडि बढाइएको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यार्थीलाई आयुर्वेद र योग शिक्षाबारे जानकारी दिईंदै

२७ माघ २०८०, शनिबार १५:३३
नेपालगञ्ज : बाँकेका केही सामुदायिक विद्यालयका विद्यार्थीलाई सानै उमेरदेखि आयुर्वेद औषधी र योग शिक्षाका बारेमा जानकारी गराउन थालिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको आयुर्वेद शाखाले दिएको जानकारी अनुसार गाउँपालिकाको वडा नम्बर ९ ढकेरीस्थित गणेश माध्यामिक विद्यालयले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई आयुर्वेद औषधी र योग शिक्षाका बारेमा कक्षामै जानकारी गराउन थालेको हो […]