नेपालगञ्ज : योग समिति नेपालले सोमबार बिहान नेपालगन्जमा नवौं राष्ट्रिय योग दिवस मनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरेर योग समितिले राष्ट्रिय योग दिवस मनाएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहको विशेष उपस्थितिमा योग समिति नेपालले योग दिवस मनाएको योग गुरु गिरिराज भट्टराईले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगर प्रमुख बिष्टले आधुनिक समाजमा योगको महत्व बढ्दै गएको बताउँदै शारीरिक सुस्वास्थ्य र स्वस्थ जीवनशैलीका लागि योग अति आवश्यक रहेको बताए । शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढ्दै गएको भन्दै उनले सबै व्यक्तिले योग गर्नुपर्नेमा जोड दिए ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँगाउँमा गर्न जरुरी रहेको बताए । उनले योगले शारीरिक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले स्थानीय सरकारले यसलाई जोड दिएर राष्ट्रिय दिवसको रुपमा मनाउने गरेको पनि जानकारी दिए ।
अध्यक्ष शाहले नेपालगञ्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकाको सहयोगमा राष्ट्रिय स्तरको योग सम्मेलन गर्नका लागि तयारी गर्न समेत योग समिति नेपाललाई आग्रह गरे । कार्यक्रममा योगमार्फत् मानवसेवामा अतुलनीय योगदान पु¥याएको भन्दै योग समितिका आजीवन सदस्य नीलबहादुर शाक्यलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूलाई योग गुरु भट्टराईले योगको प्रशिक्षण दिनुका साथै यसको महत्वका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सदरलाइन डटकमका सम्पादक रुद्र सुवेदी, नरैनापुरका प्रेस बिज्ञ एवम् मानव अधिकारकर्मी आलम खान, अधिवक्ता विश्वजित तिवारीलगायत सर्वसाधारणको सहभागिता थियो ।