२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

राप्तीसोनारीमा सिकलसेल रोगीहरुको वीमा कार्यक्रम हुने



नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल रोगीहरुको वीमा कार्यक्रम सुरु हुने भएको छ । लुम्विनी प्रदेश सरकारले वंशाणुगत सिकलसेल एनिमियाका बिरामीका लागि चालू आर्थिक वर्षदेखि वीमा कार्यक्रम सुरु गर्ने योजना अनुसार राप्तीसोनारीका रोगीहरुको पनि वीमा हुने भएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार राप्तीसोनारीमा ३३ जना सिकलसेलका बिरामी भेटिएका छन् । प्रदेश सरकारले उनीहरुको निःशुल्क वीमा गरिदिनेछ । राप्तीसोनारी गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा वीमा सुभारम्भ कार्यक्रमको आयोजना गरिएको छ ।

लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले वीमा कार्यक्रमको उदघाटन गर्ने कार्यक्रम तय भएको पालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिए । त्यसका लागि स्वास्थ्य मन्त्री खनाल बुधवार बाँके आउन लागेका छन् । उनले वीमा कार्यक्रमको सुभारम्भसँगै राप्तीसोनारी अस्पतालको निरीक्षण गर्ने कार्यक्रम पनि रहेको छ । राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा रहेको राप्तीसोनारी अस्पतालको १५ शैयाको भवन निर्माणाधिन अवस्थामा छ । स्वास्थ्यमन्त्री लगायतको टोलिले उक्त भवनको समेत निरीक्षण गर्नेछ ।

यस्तै नरैनापुर गाउँपालिका–४ मा रहेको प्रसूति गृहको समेत स्वास्थ्यमन्त्रीको टोलिले निरक्षण गर्ने जनाइएको छ । उक्त प्रसूति गृहको सेवा विस्तारका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शल्यक्रियासहितको सेवा प्रवाह गर्नेगरी प्रसूतिगृहलाई विस्तार गर्न लागिएको नरैनापुर गाउँपालिकाले जनाएको छ । बुधवार नेपालगञ्जमै बास बस्ने भएका कारण स्वास्थ्यमन्त्री मातहतका कार्यलयको निरीक्षण र भेटघाटमा व्यस्त रहने कार्यसूचि छ ।

प्रकाशित मिति : २०८० पुस २४ गते मंगलबार
ताजा समाचार